बुकायो साकाले दुई गोल गरेपछि आर्सनल लिभरपुलमाथि रोमाञ्चक जित निकाल्दै इङ्लिस प्रिमियर लिगको अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको दिन आइतबार म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा सात सयौं गोल पूरा गरेका छन्।
इमिरेट्स स्टेडियममा आर्सनलले लिभरपुलमाथि ३–२ को जित निकाल्दा रोनाल्डोको प्रेरणामा म्यानचेस्टर युनाइटेडले घरेलु टोली एभर्टनलाई २–१ ले उसैको मैदान गोडिसन पार्कमा स्तब्ध बनायो। रोनाल्डोकै गोल युनाइटेडका लागि निर्णायक बन्यो। यो गोलसँगै रोनाल्डोले क्लब फुटबलमा सात सयौं गोल पनि पूरा गरे। गाब्रियल मार्टिनेलीले एक मिनेट पनि नबित्दै गोल गर्दा आर्सनलले बलियो प्रतिद्वन्द्वी लिभरपुललाई झड्का दियो। पहिलो हाफकै थप गरिएको समयमा आर्सनलका साकाले अर्को गोल थपे। त्यसअघि लिभरपुल गोल फर्काउन सफल भए पनि अर्को गोल बेहोरेपछि फेरि पछि प¥यो। आर्सनलले दुई पटक अग्रता जोगाउन सकेन। तेस्रो पटक भने आर्सनलले अग्रता जोगाउँदै लिभरपुललाई स्तब्ध बनायो। पहिलो हाफमा डार्विन नुनेज र दोस्रो हाफमा रोबर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए। तर, साकाको पेनाल्टी गोलबाट योर्गान क्लोपको टोली लिभरपुल हार बेहोर्न बाध्य भयो। यो हारपछि लिभरपुल शीर्ष स्थानका लागि १४ अंकले पछि प¥यो। लिगका आठ खेलमध्ये लिभरपुलले दुई खेल मात्र जितेको छ।
‘लिभरपुलले पाएका अवसर सदुपयोग गर्न सक्छ भन्ने प्रमाणित ग¥यौं। तर, हामीले पनि कठिन समयमा टिम इफोर्ट लगायौं र रोक्न सफल भयौं,’ आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने। लिभरपुलका लागि अझै खराब दिन जारी रहन सक्छ। किनकि आगामी हप्ता आफ्नै घरेलु मैदानमा लिभरपुलले म्यानचेस्टर सिटीलाई आतिथ्यता गर्दै छ। उक्त खेलमा लुइज डियाज र ट्रेन्ट एलेक्जान्डर आर्नोल्डजस्ता खेलाडी चोटका कारण लिभरपुलमा उपलब्ध हुन छैनन्। ‘अझै हामीले अंकतालिका हेरेका छैनौं। तथापि, अहिले कहाँ छौं भन्ने हामी सबैलाई थाहा छ,’ क्लोपले भने, ‘हामी शीर्षमा छैनौं। छिटै हामी त्यो स्थानमा पुग्नेछौं। त्यसका लागि हामी तयार पनि छौं।’ यता, आर्सनलले भने लिभरपुललाई स्तब्ध बनाउँदै डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँग एक अंकको अग्रता बनाएको छ। गत हप्ता नै उत्तरी लन्डन डर्बीमा टोटनह्यामलाई स्तब्ध बनाउँदै आर्सनलले आफू पनि यस सिजन उपाधि दाबेदार बन्न सक्ने संकेत गरेको थियो। आर्सनल सन् २००४ पछि पहिलो प्रिमियर लिग उपाधिको प्रतीक्षामा छ।
रोनाल्डोको सात सय गोल
विश्व फुटबलकै सफल स्ट्राइकर रोनाल्डो पछिल्ला समय इरिक टेन हागको प्रशिक्षणमा बेन्चमा नै सीमित रहँदै आएका थिए। यद्यपि, पाँच पटक बालन डी’ओर विजेता रोनाल्डोले एन्थोनी मार्सियल घाइते भएपछि पहिलो हाफ नै मैदान प्रवेश गर्ने अवसर पाए। यो अवसर सदुपयोग गर्दै रोनाल्डोले क्लब फुटबलमा सात गोलको आँकडा पार गरे। खेलको पाँच मिनेटमा नै एलेक्स इओबीले उत्कृष्ट टप कर्नर गोल गर्दै गडिसन पार्कमा एभर्टनलाई अग्रता दिलाए। यद्यपि, ब्राजिलियन स्ट्राइकर एन्टोनीले तेस्रो प्रिमियर लिग खेलमा तेस्रो गोल गर्दै युनाइटेडलाई खेलमा फकाए। १५औं मिनेटमा एन्टोनीको गोलबाट युनाइटेड खेलमा फर्कियो। ४४औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। उनले ब्राजिलियन स्टार कासेमिरोको पास सदुपयोग गर्दै गोल गरे। त्यो गोल नै युनाइटेडको जितका लागि पर्याप्त बन्यो। आठ खेलमध्ये युनाइटेड पाँच जितसहित अंकतालिकाको पाँचौं स्थानमा उक्लियो।
नागरिक न्युजबाट साभारछ ।























प्रतिक्रिया दिनुहोस्