काठमाडौँ — पाँचदलीय सत्ता गठबन्धनलाई प्रतिनिधिसभातर्फका १ सय ६५ सिट भागबन्डा गर्न सकस परेको छ ।

निर्णायक बैठक भनेर बिहीबार बिहान ११ बजेदेखि बसेको गठबन्धनको शीर्ष बैठक राति १० बजेसम्म चल्दा पनि सहमति हुन नसकेपछि अर्को बैठक शुक्रबार बस्ने भएको छ ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादव, कांग्रेस नेता रामचन्द्र पौडेल र कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाबीच बिहीबार धेरै समय संयुक्त छलफल चलेको थियो ।

कुनै बेला छुट्टाछुट्टै साइड बैठकसमेत भएका थिए । बैठक निष्कर्षमा नपुगेपछि सञ्चारकर्मीलाई जानकारी नगराउने भन्दै नेताहरू निस्केका थिए । कांग्रेस नेता पौडेलले अब प्रदेश निर्वाचन क्षेत्रको समेत गृहकार्य गरेर शुक्रबार बस्ने जानकारी दिए ।

शीर्ष नेताहरूले संख्या टुंग्याएपछि निर्वाचन क्षेत्र तोक्ने विषयमा गृहकार्य गर्न भनेर कार्यदलका सदस्यलाई समेत बालुवाटार डाकिएको थियो । ‘नेताहरूले संख्या टुंग्याउलान् र हामी निर्वाचन क्षेत्रका विषयमा गृहकार्य थालौंला भनेर बसेका थियौं,’ कार्यदलका एक सदस्यले भने, ‘तर संख्यामै समझदारी जुटेन ।’ संख्या टुंगो लागेको भए करिब १ सय निर्वाचन क्षेत्रमा कहाँ कुन दलले लिने भन्नेबारेमा तत्कालै टुंगिने उनले बताए । ‘बाँकी केही निर्वाचन क्षेत्रलाई एकरदुई दिनमा मिलाउन सकिन्थ्यो,’ ती सदस्यले भने ।

नेताहरूले सहमतिनिकट भनेर प्रतिक्रिया दिए पनि बैठकमा संख्याकै विषय पेचिलो बनेको थियो । बैठकको सुरुवातदेखि नै कांग्रेसले कति सिट लिने र बाँकी दललाई कति छुट्याउने भन्ने प्रस्तावकै वरिपरि छलफलकेन्द्रित भएको थियो ।

बैठक ११ बजेबाट अपराह्न ३ बजेसम्म निरन्तर चलेको थियो । त्यसपछि प्रधानमन्त्री देउवा र नेता पौडेल दिवंगत प्रदीप गिरीको १३ औं पुण्यतिथिमा आयोजना गरिएको शोकसभामा सहभागी हुन निस्किए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि पार्टीको काम भन्दै केहीछिन निस्किए । ६ बजेतिर सबै नेता जुटेर बैठक फेरि बस्यो तर गाँठो फुस्कन सकेन ।

 

बालुवाटार स्रोतका अनुसार कांग्रेसले सय सिट दाबी गरेर ९० सिटको बटमलाइन अघि सारेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई त्यसमध्येबाटै केही सिट

छुट्याउने गरी कांग्रेसले उक्त बटमलाइन राखेको हो । ७५ सिटमा अन्य दललाई मिलाउन प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष दाहाललाई आग्रह गरेका थिए । तर दाहालले ५० प्रतिशत कांग्रेसले राखेर बाँकी अन्य दललाई छाड्न आग्रह गरे । कांग्रेसलाई ५० प्रतिशत दिन एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने तयार थिएनन् ।

पार्टी विभाजन गरेर जोखिम मोलेको तर्क अघि सार्दै उनले आफ्नो पार्टीले २५र३० सिट पाउनुपर्ने तर्क गरे । बैठकमा माओवादीले ६० र एकीकृत समाजवादीले ४० सिटको प्रस्ताव गरेका थिए ।

जसपाले २५ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । ‘कसले कति सिट लिने भन्दा पनि कांग्रेसले कति सिट लिने र गठबन्धनका अन्य दललाई कति सिट छुट्याउने विषयमा मात्रै छलफलकेन्द्रित भएको छ ।

माओवादीभन्दा पनि एकीकृत समाजवादीको दाबी नमिल्दो छ,’ कांग्रेसका एक नेताले भने, ‘अब देउवा र दाहालबीच हुने छलफलले सिट संख्या टुंग्याउँछ ।’

समाचार कान्तिपुर दैनिकबाट

फाइल तस्विर