इलाम नगरपालिका–९, गोलाखर्कस्थित राहसल बाल अनाथालयका संस्थापक एवम् वर्तमान अध्यक्ष र सचिव त्यही अनाथालयकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्। सचिव कवीन्द्र राई जबर्जस्ती करणीमा आरोपमा पक्राउ परेका हुन् भने अध्यक्ष राजेन्द्र चौहानलाई प्रहरीले जबर्जस्ती करणी उद्योग आरोपमा नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सचिव राईले त्यही अनाथालयमा बस्ने १३ वर्षीया बालिकालाई जबरर्जस्ती करणी गरेको आरोप छ। अनुसन्धानक्रममा अध्यक्ष चौहानसमेत तानिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

नेपाल विद्युुत् प्राधिकरणका कर्मचारीसमेत रहेका सचिव राईलाई गत बिहीबार र चौहानलाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ। दुवै जनाविरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए। ‘पीडित बालिकाले नै घटनाबारे बताएपछि आरोपीहरू पक्राउ परेका हुन्,’ एसपी श्रेष्ठले भने, ‘थप अनुसन्धान हुँदैछ।’

२ दशकयता बालबालिका संरक्षण गरिरहेको अनाथालयमा बेसहारा, अनाथ बालबालिका राखिन्छन्। चौहानकै सक्रियतामा उनैले दान दिएको ८ रोपनी जग्गामा २०६६ सालमा अनाथालय स्थापना भएको हो। सडक, बजार, गल्ली, जंगलमा भेटिने अनाथ बालबालिकालाई यहाँ राख्ने गरिएको छ। अहिले अनाथालयमा ८ बालक र ८ बालिका छन्।

यो नागरिक न्युजबाट साभार गरिएको हो ।