मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ सुरु भएको आज चौथो दिन दर्शकहरु कोचाकोच थिए ।

हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा मेला भर्न आउनेहरु शनिबार राष्ट्रिय कलाकार गायिका टिका प्रसाई र गायक किरण भुजेलको प्रस्तुती झुमेका थिए ।

महोत्सवमा कमेडियन राजा राजेन्द्र पोखरेलले दर्शकहरुलाई हसाउँदै आफ्नो प्रस्तुती दिएका थिए भने उनीहरुको प्रस्तुतीमा महोत्सवमा रौनक थपिएको थियो ।

महोत्सवमा चौथो दिन शनिबार दर्शकहरुको अत्याधिक भीड लागेको हो भने करिब २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकले जनाएको छ ।

महोत्सवमा हेटौंडा आइडल, डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको मःम, रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फन पार्क, निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका प्रवक्ता उज्वल चौलागाईले बताए।

प्रवक्ता चौलागाईले बताए अनुसार भोली आइतबार चर्चित गायक रमेशराज भट्टराई, गायिका मञ्जु पौडेल, स्याण्डअप कमेडियन सीता न्यौपानेको प्रस्तुती रहने छ ।
……………….
मकवानपुर उद्योग वाणिज्य संघले पहिलो पटक २०४२ सालमा औद्योगिक व्यापार मेला गरेको थियो।त्यसैगरि संघले २०४३, २०५३, २०५५, २०५६ सालमा मेला गरेको थियो भने २०६६ सालमा मध्यमाञ्चल औद्योगिक व्यापार मेला गरेको हो।
२०६८, २०७०, २०७२ र २०७५ मा राष्ट्रिय औद्योगिक व्यापार मेला गरेको हो।

महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको र कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल लगाएत विभिन्न ३ सय ३७ वटा स्टलहरु रहेका छन् ।

मेलामा कृषि, घरेलु हस्तकला, महिला उद्यमीका उत्पादन, होटल, आइटी, शैक्षिक संघसंस्था, उद्योगका उत्पादनहरु लगायतकाको स्टलहरु छन् ।

११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिकी स्थनाीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु रहेको छ ।