कपिलवस्तु । शिवराज नगरपालिकाकी अनमी सपना गिरी मंगलबार निमित्त प्रमुख प्रसासकीय अधिकृत पूर्ण विश्वकर्मासँग गुनासो गर्दै थिइन् । ‘सर मेरो कोखमा ४ महिनाको भु्रण छ । कार्यालय जान निकै सकस छ । न गाडी पाइन्छ न त्यहाँ पुग्न कुनै सजिलो विकल्प छ । कहिले हिड्दै पुग्नुपर्छ । यसअगाडि तीनपटक रहेको गर्भ तुहिएको थियो । बरु प्रसूतिपछि जाउँला सर । गर्भवती भएर समस्या भएको छ ।’
उनको समस्याप्रति निमित्त प्रमुखले पनि कुनै विकल्प दिन खोजेनन् । बरु, उल्टै प्रश्न सोधे ‘तपार्इंले के गल्ती गरेको थियो र गुनासो आएर सरुवा भयो ? निरास भएर फर्किएकी अनमी गिरीले मुहार बिगार्दै भनिन् ‘बिहान ८ बजे कार्यालय भेट्न हिड्नुपर्छ, राति घर पुग्दा ७ बज्छ । डाक्टरले सवारी साधनको कम प्रयोग गर्न भनेका छन् । स्थास्थ्यकर्मी भएर पनि मेरो बच्चाको सुरक्षा गर्न सक्दिनँ कि ?’

शिवराज नगरपालिकाले ती गर्भावती कर्मचारीलाई दुःख दिनकै लागि पालिकाको सबैभन्दा दुर्गम स्थानमा सरुवा गरेको रहस्य खुलेको छ । घरनजिकै नगरपालिकाको वडा नम्बर ९ सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत अनमी गिरीलाई ४० किलोमिटर टाढा सरुवा गरी दिएको छ । उनलाई नगरपालिका–१० लालपुर स्वास्थ्य चौकीमा उनको सरुवा गरिएको छ । स्वास्थ्य चौकी सडकदेखि करिब २ किलो मिटरभित्र रहेको छ । त्यहाँ पुग्न सवारी साधनसमेत पाइँदैन । उनको साउन ३० गने पूर्वप्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले उनलाई सरुवा गराएका थिए ।

अनमी गिरीका परिवार र स्थानीय माओवादी कार्यकर्ताबीच विवादलाई लिएर अनमी गिरीको सरुवा गरिएको स्रोतले बताउँछ । धानखोला आमा समूहका लागि प्रतिघर १० हजार रुपैयाँ उठाउने भनिएपछि गिरीको परिवारले पैसा दिन आनाकानी गरेपछि विवाद भएको बताइएको छ । उठाएको रकम पारदर्शी नदेखिएपछि रकम तिर्न आनाकानी गरी दुःख दिन नगरपालिकाको सबैभन्दा दुर्गम स्थानमा सरुवा गरिएको थियो । गिरीको स्थानमा सृष्टि गहतराजको सरुवा गरिएको छ । शिवपुर घर भएकी गहतराजलाई समेत सरुवा भएको स्थानमा पुग्न सास्ती खेप्नुपरेको छ ।

सरुवाको विषयमा स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्टराईसँग सोधपुछ गर्दा आफू बिरामी भएर बिदा बसेका बेला सरुवा भएको र सरुवाको कारण थाहा नभएको बताए ।

राजधानी न्युजबाट साभारछ ।