हेटौंडा । महिला पत्रकारको क्रियाशिल संस्था सञ्चारिका समूह मकवानपुरले नेपाली महिला राष्ट्रिय फुटबलकी टिम क्याप्टेन सावित्री भण्डारी (साम्बा) लाई हेटौंडामा सम्मान गरेको छ ।
शनिबार देशलाई चिनाउनेसँग हाम्रो चिनजान भन्ने कार्यक्रममा टिम क्याप्टेन साम्बालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपम फुटबल खेलमार्फत आफूलाई चिनाउन सफल भएको कामको मूल्याङ्कन गर्दै हेटौंडा स्कूल अफ म्यानेजमेन्ट कलेजसँगको सहकार्यमा ५० हजार रुपैयाँको नगद राशीले सम्मान गरेको हो ।
सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङ्गको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा सम्मान समारोह भएको थियो ।
सम्मान कार्यक्रममा पुरस्कारका संस्थापक म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको पनि आतिथ्य रहेको थियो ।
मकवानपुरको हेटौंडाबाट आफूले पाएको सम्मानले थप हौसला प्रदान गर्ने साम्बाले बताइन् ।
महिलाहरुलाई पनि खेलकुदमा सहभागी गराउन राज्यको आवश्यकता पर्ने उनले बताइन् ।
उनले न्यूजिल्याण्डको एक क्लबमा आवद्ध भएर अष्ट्रेलिया लिग फुटबल प्रतियोगितामा सहभागी हुनका लागि तयारी गरेको बताइन् ।
अध्यक्ष गुरुङ्गले साम्बा महिला भएपनि आफूले मेहनत गरेर आफुलाई परिचित गराउन सफल भएकोमा खुशी व्यक्त गरिन् ।
उनले साम्बालाई हेरेर पनि आफ्नो मेहनतलाई कायम राख्नुपर्ने सुझाव दिएकी थिइन् ।
सम्मान कार्यक्रममा जिल्ला प्रशासन कार्यलय मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य टीकाराम लामा लगायत विभिन्न खेल क्षेत्रमा आवद्ध भएका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।


























प्रतिक्रिया दिनुहोस्