मकवानपुरको हेटौंडामा भारत सरकारको सहयोगमा निर्माणाधीन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक सोमबार सम्पन्न भएको छ।

बैठकको भारत सरकारको तर्फबाट विदेश मन्त्रालयअन्तर्गत विकास साझेदारी प्रशासन महाशाखाका सह–सचिव सतीश सिवान र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव कमलप्रसाद पोखरेलले नेतृत्व गरेका थिए। समितिले परियोजनाका ठेकेदार र परामर्शदातालाई समयमै परियोजना सम्पन्न गर्न निर्देशन दिएको छ।

कोभिड महामारीका कारण परियोजनाले गति लिन नसकेको उल्लेख गर्दै दुवै पक्षले उक्त परियोजना महामारीले खडा गरेको चुनौती पार गरी अब निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिए। बैठकमा नेपाली पक्षले नेपालको पूर्वाधार विकासका भारतले गरेको सहयोगलाई धन्यवाद दिए। भारत पक्षले पनि नेपाल सरकारसँगको फलदायी सहकार्य र नेपालको शिक्षा पूर्वाधारको विकासका लागि भएका संयुक्त प्रयासप्रति खुसी व्यक्त गरे। दुई पक्षबीच परियोजना अनुगमन समितिको अर्को बैठक दुवै पक्षलाई अनुकूल पर्ने मितिमा गर्ने सहमति भएको भारतीय दूतावासले जनाएको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो