हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा सिमराको नवजागृति युवा क्लब प्रवेश गरेको छ । शुक्रबार बागमती-४ स्थित सहिद स्मृति रङ्गशालामा भएको दोस्रो दिनको खेलमा त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकमा ४-३ गोलले हराउँदै नवजागृत युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
आर्मीका लागि कप्तान भरत खवासले खेलको ८ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलमा पराजित हुने स्थिति पुगिसकेको अवस्थामा जनजागृतिका सन्तोष गोङ्बाले दोस्रो हाफको अतिरिक्त समय ९३ औं मिनेटमा गोल गर्दै खेलालाई बराबरीमा ल्याए । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो।
नव जनजागृतीका लागि टाइब्रेकरमा सुदिप लामा, रन्जय चौधरी, विक्रम थोकर, सन्तोष गोङ्बाको प्रहार गोलमा परिणत भयो भने समीर नेपालीको प्रहार गोलपोष्टमा ठोकिएर फर्कियो।
आर्मीका लागि दिनेश हेन्जन, पेम्बा दोर्जे लामा र जिलेस्पिजंग कार्कीको प्रहार गोलमा परिणत भए ।आर्मीका विमल पाण्डे र सुजन खत्रीका प्रहार सेभ गरेका सिमराका गोलरक्षक युनेश चौधरीले रोके । प्लेयर अफ दि म्याच चौधरी घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५-२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०-१० हजार प्राप्त गर्नेछन् ।



















प्रतिक्रिया दिनुहोस्