हेटौंडा । बगमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि मकवानपुरमा बन्द प्रशिक्षण सुरु भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा जेठ १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा हुन लागेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि बिहीबारबाट मकवानपुरमा बन्द प्रशिक्षण सुरू भएको हो । बिहीबारबाट सुरु भएको बन्द प्रशिक्षण यही मङ्गलबार सम्म सञ्चालन हुनेछ ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिएको खेलकुदका अध्यक्ष राजकुमार मोक्तानले जानकारी गराएका छन् । यस अघि गत वर्ष जिल्लाबाट छनौट भएका खेलाडीहरुलाई विविध कारणले बन्द प्रशिक्षणमा राख्न नसकेपनि यस वर्ष भने बन्द प्रशिक्षणमा राखिएको छ । प्रदेशस्तरीय प्रतियोगितामा मकवानपुर नतीजा राम्रो ल्यानका लागि बन्द प्रशिक्षणमा खेलाडीहरुलाई राखिएको अध्यक्ष राजकुमार मोक्तानले बताएका हुन् । यस अघिको प्रतियोगितामा मकवानपुरले चौथों स्थान हासिल गर्न सफल भएको उनले बताए ।
गत वर्षको तुलनामा यश वर्ष अब्ब्ल नतीजा ल्याउने लक्षय मकवानपुरले लिएको उनले बताए । उसु, तेक्वान्दो,कराँते,कबड्डी,भलिबल र एथ्लेटिक्स लगायतका ६ विधाका खेलहरु रनिङ्ग शिल्ड प्रतियोगितामा सचालन हुनेछन् । बन्द प्रशिक्षणमा करिब २० लाख रुपैयाँको बजेट खर्छ हुने अनुमान गरिएको उनले बताए । उसुमा १२ जना, तेक्वान्दोमा १२ जना, कराँतेमा १२ जना, कबड्डीमा २० जना, भलिबलमा १८ जना र २० जना र एथ्लेटिक्समा २४ जना खेलाडीहरुको प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुनेछन् । जिल्लाबाट प्रदेशस्तरीय प्रतियोगिताका लागि छनौट भएर बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु जेठ १२ गते काठमाडौँ प्रस्थान हुने बताइएको छ । हेटौंडादेखि बाहेकका बाहिरी पालिकाबाट आएका खेलाडीहरुका लागि खानसहित बास स्थानको पनि व्यवस्था गरिएको छ भने अन्य खेलाडीहरुका लागि डाइट खाजाको व्यवस्था गरिएको छ ।
उसुको प्रशिक्षण हेटौंडा-४,स्थित हुप्रचौरमा रहेको खेलकुदको भवनमा, हेटौंडा-८ स्थित कमानेको चन्द्रोदय माध्यमिक विद्यालयको चौरमा र बगमती गाउँपालिका फापरबारी स्थित ठाडी खोलामा हुने उसु संघका सचिव विश्वनाथ पाठकले बताएका छन् । उसुको थाउलो विधा प्रदर्शनीमा ३ / ३ जना छात्र छात्रा र सानसो विधा फाइटमा ३/३ जना छात्र छात्र खेलाडीहरुको सहभागिता रहने उनले बताए । कामनेमा विश्वनाथ पाठकले, खेलकुदमा विमल थापा मगरले र बागमतीमा जयराम रहठाल मगरले प्रशिक्षण दिनेछन् ।
बाहिरी पालिकाका खेलाडीरुको शिक्षामा असर पर्ने कुरालाई मध्य नजर गर्दै पालिकामै प्रशिक्षण गराइएको उनले बताए । उनका अनुसार करिब २ घण्टाको हिडाइएको संघर्ष गरेर प्रशिक्षण गर्नुपर्ने अवस्था रहेको छ । प्रदेशस्तरीय प्रतियोगितामा छनौट भएका उसुतर्फका १२ खेलाडीहरु मध्ये सबै भन्दा बढी ९ जना बागमतीका खेलाडीहरु रहेको उनले बताए ।
यस्तै, तेक्वान्दोतर्फ बिहान ६ बजेदेखि ८ बजेसम्म र साँझा ३ बजेदेखि ५ बजेसम्म हेटौंडा-४,स्थित कररामा रहेको तेक्वान्दोको कभर्ड हलमा विमल विश्वकर्मले प्रशिक्षण दिइरहेका छन् । तेक्वान्दोतर्फ टिम व्यवस्थापकको रुपमा माधव कोइराला रहेका छन् ।
एथ्लेटिक्स तर्फको खेलमा बैकल्पिक २ जना सहित २४ जना खेलाडीहरुको प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता रहने छन् । उनीहरुका एथ्लेटिक्सका मुख्य प्रशिक्षक राजाराम पोखरेल, मकवानपुर जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष प्रभाकर पाण्डे, रमन झा, सन्देश राई र सन्ध्या आचार्यले प्रशिक्षण दिइरहेका छन् । यस वर्ष गत वर्षको तुलनामा अझ बढी ल्याउने लक्ष्य लिएको एथ्लेटिक्स संघका अध्यक्ष प्रभाकर पाण्डेले बताए । उनले शनिबार र आइतबार बिदाको समयमा अलि बढी प्रशिक्षण दिने गरेको बताए । बकैया, बागमती र थाहा नगरका केही खेलाडीहरु भने प्रशिक्षणमा आउने बाँकी रहेको उनले बताए । गत वर्षको प्रतियोगितामा मकवानपुर एथ्लेटिक्समा दोस्रो भएको थियो ।
यस्तै, कराँते तर्फको खेलमा प्रदेशस्तरीय प्रतियोगिताका लागि सबैभन्दा बढी बकैयाका खेलाडी सहभागी हुँदैछन् । बकैया-३,स्थित हात्ती सुडेमा भीम घलानले प्रशिक्षण दिएका छन् । उनले बिहान र बेलुका प्रशिक्षण दिने गरेको बताए । सबै खेलाडीलाई हेटौंडामै प्रशिक्षण दिने भनिएपनि पढाइमा असर पर्ने भएकोले पालिकामै प्रशिक्षण दिएको उनले बताए । बागमती र हेटौंडाको खेलाडीलाई भने हेटौंडा-४,स्थित कभर्ड हलमा प्रशिक्षण दिइरहेको छ । बागमती र हेटौंडाको खेलाडीलाई मुरे श्रेष्ठ र मोहन श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।
यस्तै, भलिबलतर्फ छात्र/छात्रा ९/९ जना खेलाडीहरुको बन्द प्रशिक्षणमा सहभागिता रहेको भलिबलका प्रशिक्षक नरेन्द्र मोक्तानले जानकारी दिएका छन् । भलिबलमा सहभागी हुने खेलाडीहरुलाई नरेन्द्र मोक्तानसँगै प्रशिक्षक पुष्प मैनालीले प्रशिक्षण दिइरहेका हुन् । भलिबलका खेलाडीहरुलाई बिहान ६ बजेदेखि ८ बजेसम्म र साँझा ३ बजेदेखि ५ बजेसम्म हेटौंडा-४,स्थित हुप्रचौरको भलिबल प्रशिक्षण दिने गरिएको नरेन्द्र मोक्तानले बताए । उसु काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेपा)कभर्डहलमा, तेक्वान्दो ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो महासंघको हलमा, भलिबल भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलमा”, एथलेटिक्स दशरथ रंगशालामा र कराँते कराते महासंघ हल सातदोबाटो ललितपुरमा हुनेछ ।





























प्रतिक्रिया दिनुहोस्