विराटनगरमा भएको इन्डो–नेपाल टि–२० मिल्स कप क्रिकेट प्रतियोगिताको उपाधि पूर्वाञ्चल क्रिकेट क्लबले जितेको छ।

मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीले आयोजना गरेको प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न फाइनल खेलमा विराटनगरको पूर्वाञ्चलले विहार कानपुरको समशेर क्रिकेट क्लबलाई ६ रनले पराजित गरेको हो।

टस जितेर पहिलो ब्याटिङ गरेको पूर्वाञ्चलले २० ओभर खेल्दै सबै विकेटको क्षतिमा २ सय ४ रनको योगफल तयार परेको थियो। पूर्वाञ्चलका मञ्जित श्रेष्ठले ४६, रसिद खानले ४६, श्रवण यादवले ४० र मुकुन्द यादवले २९ रनको योगदान गरेको थियो। कानपुरका हिमांसु सिंह र किसन लालले समान ३–३ विकेट तथा श्रेष्ठ मिश्राले २ विकेट लिए।

२ सय ५ रनको लक्ष्य पछ्याएको कानपुरले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ९८ रनमै समेटियो। कानपुरका राहुल सिंहले ३९, श्रेष्ठ मिश्राले ३०, हर्षिद सिंहले २७ र रवि रायले २२ रन बनाए। पूर्वाञ्चलका जोसक खड्का र मञ्जित श्रेष्ठले समान ३–३ विकेट लिए।

प्रतियोगिताको म्यान अफ द फाइनल र बेस्ट बलर पूर्वाञ्चलका जोसक खड्का, बेस्ट ब्याट्समेन कानपुरका हर्षिद सिंह र म्यान अफ सिरिज पूर्वाञ्चलका मञ्जित श्रेष्ठ घोषित भए। प्रतियोगिताको उदयमान खेलाडी आयोजक टिमका अजय कुर्मी र निखिल चौधरी घोषित भए।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो