‘मानवताका लागि संगीत’ नामको सांगीतिक अभियानका साथ हालै एकमहिना लामो देशव्यापी यात्रा गरेको नेपथ्यले अस्ट्रेलियाको सांगीतिक यात्रा गर्नेभएको छ। प्रस्तुत यात्रामा नेपथ्यले अस्ट्रेलियाका आठ सहरमा प्रस्तुति दिने भएको छ। यसअघि सन् २०१९ को डिसेम्बरमा नेपथ्यले आफ्नो शृंखलाबद्ध प्रस्तुतिसहित अस्ट्रेलियाका छ सहरको सांगीतिक यात्रा गरेको थियो।

‘म्युजिक फर ह्युम्यानिटी अस्ट्रेलिया टुर २०२३’ नाम दिइएको यो सांगीतिक यात्रा जनवरी २५ मा डार्बिनस्थित ‘इन्टरटेनमेन्ट सेन्टर’ बाट प्रारम्भ हुने छ। त्यसपछि जनवरी २८ तारिखमा एडिलेडस्थित ‘हिन्डले म्युजिक हल’ र जनवरी ३१ मा ब्रिसबेनको ‘फोर्टिच्युड म्युजिक हल’ मा सम्पन्न भएसँगै चौथो प्रस्तुतिका लागि अस्ट्रेलियाको केन्द्रीय राजधानी क्यानबेरामा पुग्ने छ। फेबु्रअरी ३ मा क्यानबेरास्थित ‘म्येनिङ क्लार्क हल, काम्ब्री’ मा नेपथ्यले प्रस्तुति दिनेछ। यसअघि पाँचपटक अस्ट्रेलियाको भ्रमण गरिसकेको यस समूहका लागि राजधानी क्यानबेरामा भने यो पहिलो अनुभव हुनेछ।

पाँचौं कन्सर्टका लागि नेपथ्यले फेब्रुअरी ५ मा ‘वेस्टर्न अस्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर आफूलाई प्रस्तुत गर्ने छ। त्यसपछि फेबु्रअरी १० मा यस सांगीतिक समूहले सिड्नीमा प्रस्तुति दिने छ। यसपछि नेपथ्यले मेलबर्न र तास्मानियामा प्रस्तुति दिने कार्यक्रम रहेको छ।
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो