मकवानपुर /येशू ख्रिष्टको जन्मको उत्सवलाई ईशाई धर्मावलम्वीहरुले संसारभर मनाउने तयारी गरेका  छन् ।

ससारभर धुमधासँग मनाइने गरेको येशू ख्रीस्टको जन्मको उत्सवलाई डिसेम्बर महिनाभर हर्षोल्लासका साथ मनाउने गरिएको पाइन्छ ।

मकवानपुरमा रहेका करिब ६० भन्दा बढी चर्चहहरुमा क्रिसमसका दिन ईशाई धर्मावलम्वीहरुले चर्चहरुमा प्रार्थना गर्ने र परमेश्वरको भजन गाउँने मेरी क्रिसमस भन्दै शुभकामना आदानप्रदान गर्ने चलन छ ।

मण्डलीहरुमा यसको रौनक अति नै भव्य र सभ्य रुपमा देखिन्छ भने येशू ख्रीस्टको जन्मको उत्सवको अवसर पारी क्यारोल खेल्न आफ्नो शाखा मण्डलीहरुमा पुगेर एकअर्कालाई शुभकामना आदान प्रदान गर्ने गर्छन् ।

जिसस क्राइस्टको जन्म भएको दिन डिसेम्बर २५ तारिखमा हरेक वर्ष जस्तै यस वर्ष पनि विभिन्न कार्यक्रम गरी क्रिसमस मनाउन इसाई धर्मावलम्बीहरु तयारीमा जुटेका हुन् ।

अंग्रेजी नयाँ वर्षको स्वागत गर्दै डिसेम्बर बित्दै गएसँगै क्रिसमसको रमझममा रमाउँने र क्यारोल खेल्न शुरु समेत गरिसकेका छन् भने क्रिसमसको अवसरमा घर तथा चर्चहरुमा क्रिस्मस ट्री सजाएर सान्त क्लाउजको पोशाक लगाउँने आफन्त र इष्टमित्रलाई उपहार दिनुका साथै शुभकामना दिने गरिन्छ ।

परमेश्वरका पुत्र येशू ख्रीस्टको जन्मको उत्सवलाई विश्वभरी फैलिएर त्रसित बनाएको कोरोना भाईरसलाई मध्यनजर गर्दै सुरक्षित ढङ्गले मनाउने तयारी गरिएको मकवानपुरका इसाई धर्मावलम्बीहरु बताउछन्।

बाइबलका अनुसार सर्वसाधारण मानिसलाई विभेदबाट मुक्त पार्न येशु आफैँ क्रुसमा चढेकोले येशुलाई जिसस क्राइस्ट पनि भन्ने गरिएको भनाइ छ ।

ईसाको जन्म २ ईसापूर्वमा इस्राइलको नासिरत प्रान्तको एक गाउँ बेतलेहममा धेरै कठिन परिस्थितिहरूमा भएको विश्वास गरिन्छ । उनको माता मरियम उनको जन्मको समय कुमारी नै थिइन् । नाम मात्रको लागि उनको यूसुफसँग विवाह भएको थियो ।

मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएको र मरियमलाई उनको कोखबाट ईश्वरपुत्रको जन्म हुनेछ भनेर ईश्वरको सन्देश प्राप्त भएको मानिन्छ ।

यहूदी धर्मका नबि हरुले युगौँ पहिले एक उद्धारक या मुक्तिदाता मसीहाको पुनः अवतरण हुने भविष्यवाणी गरेको मान्यता छ । जेरुसेलमको बेथलेहमा दुई हजार १६ वर्षअघि कुमारी मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ ।

ईसा र उनको परिवार जन्मजात यहुदी थिए भनिएको छ भने मानवका लागि योगदान दिएको सम्झनामा इस्वी संवत् चलाइएको समेत विश्वास गरिएको छ ।

 

रेडियो बुलेटिनद्धारा क्रिसमस विशेष कार्यक्रम सम्पन्न

यसै समयमा हेटौँडाबाट प्रशारण भइरहेको रेडियो बुलेटिन ८९.७ मेघाहर्जले पनि बिहिबार क्रिसमसलाई मध्यनजर गर्दै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवति पुडासैनीले क्रिश्चियन समाजले मनाउदै आएको क्रिसमसको शुभकामना दिदै सरकारले धर्मनिरपेक्षता लागु गरेपछि सहज रुपमा यो चाड मान्न क्रिश्चियन समुदायलाइ सहज भएको बताईन् ।

कार्यक्रममा मकवानपुरका चर्चहरुको अवस्था र तिनिहरुले कसरी क्रिसमस मनाउदै आएका छन् भन्ने बिषयमा मकवानपुर ईसाई समाजका अध्यक्ष एवम् सोलिड्यारिटि ईन्टरनेशनल बोर्डिङका संस्थापक निम टोल्मा आचार्यले प्रष्ट पारिन् ।

मकवानपुर ईसाई आवाजका अध्यक्ष एवम् कोइनोनिया समदान् चर्चका पाष्टर रामकृष्ण पन्तले क्रिसमस नमनाउने क्रिश्चियन समुदायलाई पनि प्रभुको सन्देश सबैतिर फैलाउनका लागि यो चाड महत्वपूर्ण रहेकोले क्रिसमस मनाउन आग्रह गरे ।

यसैगरी, मकवानपुर ईसाई समाजको सचिव तथा नेपाल समर्पण चर्चका पाष्टर मिलन सेढाईले ईसाई समाजमा चाडले सबैलाई एकतामा बाँध्ने बताए ।

नेपाल युनाईटेड गोस्वन चर्चका पाष्टर अभिषेक उप्रेतिले क्रिश्चियन समाजले राष्ट्रको विकासमा महत्वपूर्ण योगदानहरु गरेको स्मरण गर्दै अझै धेरै सहयोग गर्न सकिने बताए ।

सबै धर्म,जातजाति,राजनैतिक दलहरु समेट्न प्रयासमा संचारमाध्यमको अहम भुमिका हुनु आवाश्यक रहेको र आगामी दिनमा अझै सक्रियतापुर्वक यस्ता कार्यक्रमहरु गरिने रेडियोका प्रबन्ध निर्देशक अनिल कुमार खातिले बताए ।

प्रबन्ध निर्देशक अनिल कुमार खातिको सभाअध्यक्षता जिसस मकवानपुर उपप्रमुख भगवति पुडासैनीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।