हेटौंडा । हेटौंडा-१०, स्थित टिसीएन चौरमा जारी दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गतको मकवानपुर जिल्लास्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको महोत्सवको भलिबल प्रतियोगतामा सोमबार क्वार्टरफाइनल चरणको खेलहरु सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पुरा भएको हो ।
सोमबार भएको क्वार्टरफाइनल चरणको ४ खेलहरुबाट जित निकाल्दै थाहा नगरपालिका वडा नम्बर-२,स्थित मङ्गलेश्वर युवा क्लब, थाहा-६,स्थित नवप्रतिभा सांस्कृतिक युवा क्लब बज्रबाराही, मनहरी गाउँपालिका र हेटौंडा-११,स्थित छहारी युवा सेवा समाज सेमीफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेल्स्मा मंगलेश्वर युवा क्लबले हेटौंडा-३,स्थित मिलन युवा क्लबलाई २५-२० र २५-१४ को सोझो सेटले पराजित गरेको छ ।
दोस्रो खेलमा नवप्रतिभा क्लब्सले बागमती गाउँपालिकालाई २५-१९ र २५-१८ को सोझो सेटले पराजित गरेको छ । तेस्रो खेलमा मनहरी गाउँपालिकाले सफल केयर क्लबलाई २५-१२ र २५-२२ ले हराएको छ भने चौंथो खेलमा पशुपति युवा क्लबलाई छहारी युवा सेवा समाजले २५-१४ र २५-१८ को सेटले हराएको छ ।
भोलि मङ्गबार सेमीफाइनल र फाइनल चरणको खेलहरु सञ्चालन हुनेछ । पहिलो मङ्गलेश्वर युवा क्लब र नवप्रतिभा युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा मनहरी गाउँपालिका र छहारी युवा सेवा समाजबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पराजित हुने दुई टिमले १५÷१५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, प्रतियोगितामा ७ वटा विधाका खेलाडीहरुलाई नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ भने अन्य उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट प्रशिक्षक र उद्यान खेलाडीलाई २÷२ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिने छ । राष्ट्रिय महिला भलिबल प्रतियोगिता भने चैत ४ गतेबाट सुरु हुनेछ ।
























प्रतिक्रिया दिनुहोस्