मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नम्बर ८ स्थित जनता माध्यमिक विद्यालयको चौरमा मंगलबार देखि छैठौं बागमती गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।
बागमती युथ क्लब सर्लाही र मच्छिन्द्र क्लब काठमाडौं बीच प्रतिस्पर्धा संगै उद्घाटन खेल भएको हो ।
प्रतियोगितामा मछिन्द्र क्लबले सर्लाहीको बागमती युथ क्लबलाई ५–२ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
खेलको म्यान अफ द म्याच मछिन्द्रको तर्फबाट विमल घर्ती मगर घोषित भए र नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत बुधबार आयोजक बागमती खेलकुद विकास समिती र ए डिभिजन क्लब हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।
नकआउट चरणमा सुरु भएको प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्टहरुल खेलाडीले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी फाल्गुन १० गते हुनेछ ।
बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीले उद्घाटन गरेको खेल बागमती खेलकुद विकास समितीका अध्यक्ष टिकालाल श्रेष्ठको सभाध्यक्षता, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, जिल्ला खेलकुद विकास समिति मकवानपुुरका कार्यालय प्रमुख माधव कोइराला, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बल लगायतको आतिथ्यतामा भएको हो ।
























प्रतिक्रिया दिनुहोस्