शब्दका रूपमा बाहिर आउने नादलाई आवाज भनिन्छ। मानिसका मुखबाट बाहिर आउने नाद आवाज हो। यही आवाजबाट मानिस एक अर्काबिच सम्पर्कमा बाँधिएको हुन्छ।
आवाज मुखोच्चरित हुन्छ। त्यही आवाज लिखितरूपमा बाहिर आएर स्रष्टाको भावनामा एकाकार भयो भने काव्य वा कृति बन्ने गर्छ। कृतिबाट बाहिर आउने सबै आवाजले पाठकका मनमा स्थायित्व जमाउन सक्दैनन्। स्थायित्व भएमा त्यस किसिमका आवाज कालजयी हुने गर्दछन्। कालजयी आवाज नै साहित्यका फाँटका असल नाद मानिएका हुन्छन्।
कालजयी स्रष्टा हुन सक्दैन। उसले प्रवाह गरेको आवाज काव्य वा साहित्यका माध्यमबाट बाहिर आएमा कालजयी हुने हो। मानिसका विचार प्रवाह हुदा देखिने सबै कुरालाई कालजयी मान्न सकिँदैन। त्यसैले बाहिर आउने आवाजको सबै सन्दर्भ कालसित जोडिएको हुुन्छ। यही आवाजमा उत्रेको हुन्छ साहित्यको परिवार र साहित्यले दिने सन्दर्भका सबै कुरा।
गीत आफैमा कालजयी हुन्छन्। ती गीतले सङ्गीतका धुनमा आफूलाई समाहित गरे भने तिनको अस्तित्व समाजमा कालजयी हुने गरेको देखिन्छ। गीत र सङ्गीतको सुमधुर सम्बन्धले समाजमा आफूलाई कालजयी बनाएर राखेका हुन्छन्। गीतका शब्दमार्फत् गीतकारले आफूलाई समर्पित गर्ने र आफ्नो विचारसमेत बाहिर ल्याउने गर्छ।
विसं २०२० सालमा खोटाङमा जन्मेका नगेन्द्रराज रेग्मीले नेपाली साहित्यमा नयाँ आधार लिएर देखापरे। उनको २०७८ सालमा प्रकाशित ‘कालजयी आवाजहरू’ नेपाली साहित्यका क्षेत्रमा देखापरेको एउटा नवीन दृष्टि हो। नेपाली गीतमा आफूलाई शब्दमा समाहित गरेका गीतकारको जीवनी नभई उनीहरूसित लिइएका अन्तर्वार्ता र संवादलाई सजाएर यस कृतिमा राखेका छन्।
संवाद हामी सधैँ गर्छौं, सबै गर्छौं तर ती संवादलाई लिपिबद्ध गर्न सक्ने मानिस समाजमा कम हुुन्छन्। ती संवादको भावलाई बाहिर ल्याउने र पाठकलाई सुम्पने क्षमता सबैमा हुँदैन। यो जाँगर चलाएका छन् नगेन्द्रराज रेग्मीले। उनीभित्रको स्रष्टा व्यक्तित्व मुखरित भएर आएको छ यो कृतिमा।
मानिसले जीवनमा सबैसित सम्पर्क गरिरहेको हुँदैन। कसैसित भएको सम्पर्क संवादका रूपमा बाहिर नआउन सक्छ। रेग्मीले आफूसित सम्पर्क साँधेका र आफूबाट सम्पर्क साँधिएका बाइस जना गीतकारका भावनालाई गतिलो तरिकाले यो कृतिमा पस्केका छन्। गीतका सफल स्रष्टालाई बाहिर ल्याउँदा उनले लिएका संवादमा कति मिठास छ, कति सामीप्य छ, कति सहज अभिव्यक्ति छ। त्यो अभिव्यक्तिमा भरिएको दरिलोपन र मिठासले रेग्मीलाई एक असल स्रष्टाका रूपमा चिनाएको छ।
हामीलाई मनोरञ्जन दिने र गीतलाई सङ्गीतमा बाँधेर बाहिर ल्याउने स्रष्टाको जीवन कति कष्टकर हुन्छ वा हुँदैन भन्ने सन्दर्भलाई रेग्मीले बाहिर ल्याएका छन्। गीत गाएर, गीत लेखेर, नेपाली जनजीवनमा भिजेका व्यक्तिहरूको भावनालाई नगेन्द्रले पाठकसामु ल्याएका छन्। उनको यो प्रयासले नेपाली गीत, सङ्गीतमा समर्पित बनेका आवाजहरू बाहिर आएका छन्। उनको प्रश्न गर्ने कला र उनले पाएको उत्तरमा जुन किसिमको गम्भीरता देखिएको छ, त्यो आजभन्दा पहिले प्रकाशित कृतिहरूमा पाइँदैन। नेपाली मात्र नभई नेपाल बाहिरको जनमानसमा आफ्ना रचना र आवाजले ठाउँ पाएका गीत र सङ्गीतका धनीहरूलाई रेग्मीले ‘कालजयी आवाजहरू’बाट बाहिर ल्याएका छन्।
साहित्यको इतिहासमा हामीले सबैलाई चिन्दैनौँ। अझ गीत र सङ्गीतका कुरामा त हामी धेरैपछि छौँ। एउटा गीतकारले गीत रचना गर्दा भोगेको यथार्थ, एउटा सङ्गीतकारले गीतलाई सङ्गीतका धुनमा समाहित गर्दाको समस्या र एउटा गायक वा गायिकाले गीत गाउँदा भोगेको तीतो सत्यलाई रेग्मीले मसिनो तरिकाबाट कृतिमा राखेका छन्।
साहित्यमा गीत र कविताको आआफ्नै महत्त्व छ। साहित्यकारले सिर्जना गर्दछ। गीतकारले गीत रचना गरेको हुुन्छ। ती गीतलाई सङ्गीतमा समाहित गराएर कर्णप्रिय बनाउने सङ्गीतकार र आफ्नो सुरिलो कण्ठबाट मधुर बनाएर जनसामु पस्किने गायकगायिकाको आधारभूमिले आवाजलाई कालजयी बनाएको हुन्छ। त्यही कालजयी आवाजलाई लिएर बाहिर आएका छन् रेग्मी। रेग्मीको प्रश्न गर्ने कला पनि सारै सुन्दर बनेर आएको छ। उनले गणेश रसिकलाई भन्छन्–‘दाइले मलाई जति छकाउन खोजे पनि भेटिकन छाडेँ नि !’ कस्तो प्रश्न कृतिकार रेग्मी र रसिकका बीचको। यो प्रश्न गर्ने कला र उत्तरमा आएका वाक्यविन्यासले कृतिलाई नै कालजयी बनाएर राखिदियो। यादव खरेललाई सोधिएको यो प्रश्न कति रोचक छ–‘दाइ, नढाँटी भनिदिनुहोस् न, वास्तवमै तपाईंले गीत किन लेख्नुभयो? के स्वान्त सुखाय नै हो त? कि यश कामुकता अथवा अरू केही?’ यो प्रश्नसित आउने उत्तर कति घतलाग्दो होला? यी त सामान्य उदाहरण मात्र हुन्। यस्तै यथार्थै–यथार्थले भरिएको छ यो कृति। त्यसका लागि कृतिको अध्ययन अनिवार्य जस्तो देखिएन र?
आरम्भमा कवि, गीतकार, सङ्गीतकार, गायकगायिकाको परिचय दिएर उनीहरूसित भेट हुुँदाको अवस्थालाई कति गतिलो तरिकाले राख्न जानेका होलान् रेग्मीले। उनको त्यो लेखनशैली देखेर आश्चर्य लाग्छ। उनको लेखनकला र कालजयी आवाज दिने सष्टाहरूको बोलीले कृतिलाई जीवन्त बनाएको छ। कवि, गीतकार, सङ्गीतकार तथा गायकगायिकालाई जीवन्त बनाएर उतारेका छन् रेग्मीले। उनको मीठो प्रश्न र स्रष्टाहरूको मन छुने उत्तरले कृतिको उचाइलाई धानेको छ।
नेपाली भाषा, साहित्य, गीत र सङ्गीतलाई माया गर्ने भारतीय भूमिमा जन्मेका नौ जना स्रष्टा तथा नेपालमै रहेर नेपाली भाषा, साहित्य, गीतसङ्गीतमा समर्पित एघार जनाको बायोग्राफी बनेको छ ‘कालजयी आवाजहरू’। रेग्मी नेपाली साहित्यमा स्रष्टाका विचारलाई बाहिर ल्याउने साहित्यकार बनेर देखिएका छन्। उनले २०५९ सालमा ‘स्रष्टा संवाद’ नामक कृतिका माध्यमबाट स्रष्टाका भावनालाई बाहिर ल्याएका थिए। आज आएर ‘कालजयी आवाजहरू’बाट बाहिर आए।
उनले साहित्य, गीतलेखन, सङ्गीत तथा गायनमा समर्पित भएका स्रष्टाहरूलाई कृतिका माध्यमबाट बाहिर ल्याएका छन्। हामीले नचिनेका, नसुनेका, नजानेका स्रष्टाहरूको आवाज बोलेका छन्। उनको प्रश्न गर्ने कला र उत्तर माग्ने क्षमता रोचक छ। यही रोचकताको बलियो खम्बामा अडिएको छ यो कृति।
नीतिमा भनिएको छ–साहित्यसङ्गीतकलाविहीनः साक्षात्पशु: पुच्छविषाणहीनः साहित्य सङ्गीत र कलाप्रति रुचि नभएको मानिस पुच्छर नभएको पशु हो। रेग्मीले साहित्यभन्दा पनि सङ्गीत र गीतसित सम्बन्ध गाँसेका स्रष्टाहरूलाई बाहिर ल्याएका छन्। उनको यो कृति उनीभित्र सलबलाएर रहेको आवाज हो। यसले उनलाई साहित्यका क्षेत्रमा नभएर उनको रुचिको विषयलाई बाहिर ल्याएर राखिदिएको छ। कृतिको आकारभन्दा पनि कृतिभित्र समाहित भएको भावना र त्यसले व्यक्त गरेको चिन्तनको गहिरो प्रकाशले कृति नेपाली कलाका क्षेत्रमा बिहानीपखको सूर्योदय बनेर आएको छ।
सङ्ग्रहणीय कृति
यो कृतिका स्रष्टा नगेन्द्र रेग्मी नेपाली साहित्यलाई माया गर्ने साहित्यकार हुन्। उनको यो कृतिले साहित्यकारलाई मात्र समेटेको छैन। साहित्यको बगैँचामा हुर्केका र साहित्यमा गीतकारका रूपले परिचित नभएका स्रष्टाहरूलाई समेत बाहिर ल्याएको छ। साहित्यिक कृति पढिन्छ, पढेर थन्क्याइन्छ कहिल्यै नहेर्ने गरी। कृतिको विषय र त्यसले प्रवाह गर्ने आनन्दलाई प्राप्त गरेपछि उक्त कृतिको मूल्यको खोज गर्न सकिँदैन। साहित्यको बगैँचामा मगमगाएका कृतिहरू नेपाली साहित्यमा कम छन्। केही समय आफ्नो छाप छोडे पनि समयको अन्तरालसँगै ती कृति र कृतिकार इतिहासको पानामा समर्पित भएर रहेका हुन्छन्।
रेग्मीको यो कृति त्यस किसिमको कृति होइन। कृतिभित्रका आवाज कालजयी मात्र होइन, कृति पनि कालजयी बनेको छ। रेग्मीको प्रश्न गर्ने कला र उनले स्रष्टाबाट पाएको उत्तरले कृतिको गरिमालाई उच्च बनाएको छ। आवाज कहिलेकाँही दिशाहीन हुने गर्दछ। दिशाहीन आवाज नादका रूपमा मात्र रहेको हुन्छ। त्यो नाद बलवान् त्यति बेला हुन्छ, जब त्यसभित्रका सन्दर्भ र कलाले मानिसको मुटु र मस्तिष्कमा ठाउँ जमाएका हुुन्छन्। रेग्मी कलाकारको हृदय छुन सफल भएका छन्। गीतकार, सङ्गीतकार, गायकगायिकाको हृदयमा भएका भावलाई उनीहरूका हृदयमा पसेर सुटुक्क बाहिर ल्याएका छन्। यो कृतिको सबलपन यही हो।
यो कृतिमा समाहित भएका स्रष्टा हामीसित चिरपरिचित नहुन पनि सक्छन्। रेग्मीको कलमले उनीहरूका सन्दर्भलाई जे जसरी बाहिर ल्याए, त्यसले उनीहरूको जीवनको महत्तम पाटो बाहिर आएको छ। यो कृति पढेर पनि दिक्क नलाग्ने र जति पढ्यो उति पाठकलाई आनन्द दिने खालको छ। नेपाली गीत सङ्गीतमा जीवन समर्पित गरेका स्रष्टाहरूको बायोग्राफीका रूपमा आएको यो कृति पाठकका लागि सङ्ग्रहणीय छ। साधुवाद,लेखक रेग्मीलाई!
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो















प्रतिक्रिया दिनुहोस्