हेटौंडा । बागमती खेलकुद विकास समितिको आयोजनामा पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा काठमाडौंको चित्लाङ फुटबल क्लब प्रवेश गरेको छ । मंगलबार बागमती–४,झुरझुरेस्थित सहिद स्मृति रंगशालामा भएको अन्तिम सेमीफाइनल खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लबले काठमाडौंकै मछिन्द्र फुटबल क्लबलाई १–० गोलले हराएको छ ।
निकै प्रतिस्पर्धात्म खेलमा चित्लाङग एफसीका एरोन थापा मगरले खेलको ८६ औं मिनेटमा टाढाबाट आएको पासिङ्ग बललाई लेफ्ट फुटेट सट मार्फत गोल गरे । उनले गरेको गोल निर्णायक गोल बन्न पुग्यो । १–० गोल अन्तरको स्थितिमा पुग्दा खेलको अन्तिम समयमा मछिन्द्र क्लबले गोल गर्नबाट चुकेको कारणले हार व्यर्होर्नु परेको हो । पहिलो फ्रि किङ मार्फत गोल गर्न अवसर पाएको मछिन्द्रले गोल गर्नबाट चुकेको थियो भने अर्को कर्नर किक प्रहार गरेर गोल गर्ने राम्रो अवसर पाएपनि चित्लाङका विदेशी खेलाडीले उक्त बललाई सहजै बचाउ गरेका थिए । छैठौं संस्करणको विजेता तथा सातौं संस्करणको उपविजेता समेत रहेका मछिन्द्र हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

बिहीबार फाइनल प्रवेशका लागि चित्लाङ एफसीले बाराको जीतपूर सिमरा उपमहानगरपालिकाको नव जनजागृति क्लबसँग भिड्नुपर्नेछ । भोलि बुधबारबाट सुरु हुने पहिलो सेमीफाइनल खेलमा ललितपूरको फ्रेण्डस क्लब र सर्लाहीको बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । गोल्डकप प्रतियोगिताको फाइनल खेल शनिबार हुने जनाइएको छ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।



















प्रतिक्रिया दिनुहोस्