महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विसर्जन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन्।
उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन्। त्यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको पनि उनले बताए।
मेयर साहले ३ महिनाभित्र मल र ग्याँस दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। उनले भने, ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ। मल र ग्याँस पनि बनाइन्छ। त्यसका लागि ३ महिना लाग्छ। केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हटाइन्छ। बन्चरेडाँडाको पनि सबै रिपोर्ट हेरियो। सड्ने र नसड्ने फोहोर छुट्टयाउने। त्यसबाट मल र ग्याँस निकाल्ने हो। सड्ने र नसड्ने फोहोर छुट्टयाउनका लागि काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ।’
मेयर साहले फोहोर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहोर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाडौंबासीको घरघरमा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने योजना पनि सार्वजनिक गरे। त्यस अवसरमा उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरे। स्थानीयको सबै समाधान हुने तर फोहोर विसर्जन गर्न भने स्थानीयले अवरोध गर्न नहुने उनको भनाइ थियो।
मेयर साहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि पटकपटक दोहोर्याए। यता, स्थानीयले भने आफूहरुको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विसर्जन गर्न दिन नसकिने अडान राखेका थिए।























प्रतिक्रिया दिनुहोस्