आजभन्दा २५ वर्षअघि म यस्तै समाजको एक दलित परिवारमा जन्मिएँ । मानव विकास सूचकांकको आखिरीमा रहेको महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा मेरो घर छ । आमा सवितादेवी र बुबा राजकिशोर बैठाका पाँच सन्तानमध्ये म जेठी छोरी हुँ । म हजुरआमा, हजुरबुबा, बुबा, आमा, अंकल, आन्टी, दुई फुपू, हामी चार दिदीबहिनी र एउटा भाइ गरी जम्मा १३ जनाको संयुक्त परिवारमा हुर्केकी हुँ ।
मैले विद्यालयस्तरीय शिक्षा आफ्नै गाउँको स्कुलमा लिएँ । अहिले त्यो स्कुलमा बीएडसम्म पढाइ हुन्छ । मेरा बुबा पहिले गाडीचालक हुनुहुन्थ्यो । आमा गृहिणी र लुगा सिलाउने काम गर्नुहुन्छ । बुबाले गाडी चलाउन्जेल हाम्रो आर्थिक अवस्था ठीकै थियो । दुर्घटना भएपछि बुबाले गाडी चलाउन छाड्नुभयो । त्यसपछि हाम्रो आर्थिक अवस्था कमजोर हुँदै गयो । बुबा जेठो छोरा भएकाले घरको सबै जिम्मेवारी पनि उठाउनुपर्थ्यो ।
हाम्रो समाजमा अहिले पनि छोरीलाई कमै मात्र पढाउँछन् । छोरीहरूको सपना नभएको होइन । छोराहरूको जस्तै अनेकौं सपना हुन्छन् । फरक यत्ति हो, पितृसत्तात्मक समाजमा छोरीहरूको सपनाको अर्थ हुँदैन । सपनाहरू अधुरा हुन्छन् । मरेर जान्छन् ।
हाम्रो समाजमा गर्भमै छोरीको हत्या गरिन्छ । आर्थिक अवस्था राम्रो भएकाहरूले लिंग पहिचान गरेर बच्चा जन्माउँछन् । आर्थिक अवस्था कमजोर भएकाहरूले छोराको आसैआसमा धेरै बच्चा जन्माउँछन् । सबैलाई थाहा छ, छोरीबिना यो संसार चल्दैन । तर, पनि छोरीहरूलाई गर्भमै मारिन्छ । किनकि पितृसत्तात्मक समाजमा छोराको मान्यता धेरै हुन्छ । छोरा नै अंश र वंशको हकदार हुन्छ ।
छोरा र छोरीमा भेदभाव नगरेको भए यो समाज छोरा र छोरीको कदममा कदम मिलाएर चल्थ्यो । तर, हाम्रो समाजमा एक छाक मात्र खाएर पनि छोरालाई निजी स्कुलमा पढाउँछन्, छोरीलाई पढाउनै मान्दैनन् । छोरीहरूको भागमा घरको काम पर्छ । कसैले छोरीलाई पढाइहाले पनि दस कक्षा पुग्दा नपुग्दै सानै उमेरमा बिहे गरिदिन्छन् ।
बिहेपछि घरको जिम्मेवारी हुन्छ । त्यसैले पनि छोरीहरूको सपना पूरा हुँदैन । छोराले मात्र आमाबुबालाई पाल्न सक्छन्, छोराले मात्र आमाबुबाको नाम राख्न सक्छन् भन्ने सोचले हाम्रो समाजमा जरा गाडेको छ । छोरीलाई भने अर्काको घर जाने जातका रूपमा हेर्न अझै छाडिएको छैन ।
यस्तो लाग्छ, छोरी हुनु एकदम ‘बेकार’ हो । बलात्कारको सिकार, बालविवाह, दाइजोका लागि यातना र हत्याजस्ता दुःखका अनन्त शृंखला छोरीले नै बेहोर्नुपर्छ । सानैमा बच्चा भएपछि अनेक किसिमका रोगले च्याप्छ । कति त बालखैमा बच्चा जन्माउँदा मर्छन् पनि ।
बिहे हुनेबित्तिकै बच्चा जन्माएन भने ‘बाँझी’ को उपमाले पनि छोरी नै अपमानित हुनुपर्छ । छोरीहरूले जन्मिँदै कष्ट भोग्न तयार हुनुपर्छ । यति दुःख हुँदा पनि कसैले दुख्यो होला भन्दैनन् । जसले पनि छोरीको कर्मै यस्तो भनिदिन्छन् ।
यस्तो कर्म कसले लेख्यो रु यही पुरुषप्रधान समाजले होइन रु
मलाई कहिलेकाहीँ दिक्क लाग्छ, छोरी हुनु गल्ती गर्नुसरहको सजाय किन पाउने हामीले रु
भन्न नसक्नु बेग्लै कुरा भयो । नभए हाम्रो पनि मनभरि छन् अनेक सपनाका ठेली– पढ्न पाइयोस्, केही गर्न सकियोस्, आफ्नै खुट्टामा उभिन सकियोस्, आफ्नै तरिकाले जीवन बाँच्न सकियोस् ।
२०६८ सालको जनगणनाअनुसार नेपालमा १३।२ प्रतिशत दलितहरू छन् । राष्ट्रिय दलित आयोगले प्रकाशित गरेको ‘दलित समुदाय समावेशी अधिकारसम्बन्धी विशेष व्यवस्था गर्न बनेको विधेयक–२०६८’ ले पहाडे सात र मधेसी १९ दलित जात भनेर उल्लेख गरेको छ ।
हाम्रो बैठा जाति पनि धोबीअन्तर्गत यही १९ मधेसी दलितमा सूचीकृत छ । राष्ट्रिय जनगणना–२०६८ का अनुसार धोबीहरूको जनसंख्या एक लाख नौ हजार ८९ छ । हाम्रो परम्परागत पेसा लुगा धुने भए पनि अहिले वैदेशिक रोजगारीमा जाने, खेतीपाती गर्नेलगायत अन्य पेसा पनि अपनाएका छन् ।
हाम्रो समुदाय सामूहिकतामा चल्छ । हाम्रो समूहको प्रमुखलाई मैन्जन, जवार र देवान भनिन्छ । यी प्रमुखहरू पुरुष नै हुन्छन् । उनीहरूले नै कुनै पनि महत्त्वपूर्ण कुराको निर्णय लिन्छन् । महिलाहरूलाई यस्तो निर्णयमा सहभागी गराइँदैन । ठाउँअनुसार हाम्रो समुदायले मैथिली, भोजपुरी, अवधी भाषा बोल्छन् । म महोत्तरीमा बसोबास गर्ने भएकाले मैथिली भाषा बोल्छु ।
शिक्षा, स्वास्थ्य, न्याय, समानताजस्ता कुरामा हाम्रो पहुँच एकदमै कम छ । दलितको साक्षरता दर सरदरमा ५२।४ प्रतिशत छ । त्यसमा पनि मधेसी दलित ३४।५ छ भने मधेसी दलित महिला ४५।५ प्रतिशत छ । विद्यालय जाने, तर पढाइ पूरा नगरी विद्यालय छाड्नेमा पनि मधेसी दलित बालिकाको संख्या उल्लेख्य छ ।
बालविवाह, बलात्कारजस्तो गम्भीर हिंसामा पर्ने, सानैमा आमा भएर ज्यान गुमाउनेमा मधेसी दलित महिलाकै संख्या बढी छ । नेपालमा भूमिहीन पनि मधेसी दलित नै छन् । नागरिकतासमेत नभएर परिचयविहीन पनि मधेसी दलित महिला नै छन् । उनीहरूले केही बन्ने सोच्नु त धेरै परको कुरा, आधारभूत आवश्यकतासमेत पाएका हुँदैनन् । त्यसमाथि घरमा, समाजमा र राज्यबाट पनि अवसर र पहुँच नदिएर उनीहरूमाथि संरचनागत हिंसासमेत हुन्छ ।
मधेसी दलितहरू हरेकपटक राजनीतिक आन्दोलनमा सहभागी भएका छन् । आफ्नो ज्यानको पर्वाह नगरी आन्दोलनमा लागे पनि आजसम्म यो समुदायले राज्यका विभिन्न अंगमा एकदमै न्यून प्रतिनिधित्व गर्छ ।
प्रदेश नं। २ जहाँबाट मधेस आन्दोलनको उठान भयो र पटकपटक गरेर एघार जना मधेसी दलितले ज्यान गुमाए, त्यसको प्रदेशसभामा एक जना पनि मधेसी दलितको प्रतिनिधित्व गराइएन । वास्तविकता तीतो छ । तर, यो त बदल्नु छ ।
मधेसी दलित महिलालाई समग्र महिला वा समग्र मधेसीकै डालोमा राखेर हेरिन्छ । राज्यले उपलब्ध गराउने आरक्षण, अनुदानजस्ता व्यवस्थामा त्यसैले पनि मधेसी दलित महिलाको पहुँच नगन्यजस्तो छ । त्यसैले अब मधेसीलाई दिइने आरक्षणमा मधेसी दलित, त्यसमा पनि महिलाका लागि विशेष व्यवस्था हुनुपर्छ । नभए आज मैले लेखिरहेको कथा अबको पचास वर्षपछि अर्की ममताले लेखिरहेकी हुन्छे ।
घरको आर्थिक अवस्था कमजोर भएकाले म जिल्लाबाहिर गएर पढ्न सकिनँ । तर, २०६८ सालदेखि गाउँकै स्कुलले उच्च माध्यमिक तह पढाउन थालेपछि मैले पनि कक्षा ११ मा भर्ना गरेँ । अनि सँगसँगै नजिकैको निजी स्कुलमा पढाउन थालेँ । म पढ्ने र पढाउनेको संसारमा थिएँ । तर, बुबाले मेरो बिहेका लागि केटा खोज्नुभएको रहेछ ।
‘म अहिले बिहे गर्दिनँ, पढ्छु’ भनेँ ।
म पढ्न र केही गर्न चाहन्थेँ । के भन्ने ठ्याक्कै थाहा थिएन । तर, कम्तीमा पढेपछि म आत्मनिर्भर हुन्छु भन्ने सोच थियो । तर, आमाबुबाका लागि म एक जिम्मेवारी थिएँ । बिहे गरेर पठाउनुपर्ने मपछि पनि तीन बहिनीहरू थिए । त्यसैले उहाँहरूले मैले जति नाइँ भने पनि ‘बिहेपछि पढ्नू’ भनेर मेरो कुरा सुन्नु नै भएन ।
त्यति बेला म १६ वर्षकी मात्र थिएँ । २०६९ सालमा मेरो बिहे भयो । बिहे रोक्न नसके पनि मैले मनमनै प्रण गरेकी थिएँ– म आफ्नो पढाइ कुनै हालतमा पनि छाड्दिनँ । बिहेपछि पनि म पढ्छु १
मेरो ससुरालमा सासूआमाबाहेक सबै जना पढेलखेका हुनुहुन्थ्यो । मेरा ससुराबुबा अमिन हुनुहुन्छ । मेरा श्रीमान् पिन्टु रजकका एक भाइ र एक बहिनी हुनुहुन्छ । श्रीमान्ले दससम्म मात्रै पढ्नुभएको छ । अहिले उहाँ विदेशमा इलेक्ट्रिसियनको काम गर्नुहुन्छ । देवर सिभिल इन्जिनियर हुनुहुन्छ ।
मैले सोचेँ– बिहेभन्दा पहिला मेरो सपना पूरा भएन, मेरो पढाइ पूरा भएन । यहाँ सबै जना पढेलेखेका हुनुहुन्छ । अब सायद मेरो पढ्ने सपना पूरा हुन्छ १
मलाई लाग्थ्यो कोही न कोहीले मेरो पढाइबारे सोध्नुहुन्छ ।
‘तिमी पढेर के बन्ने रु १२ पास गरेर के पढ्ने रु’ भनेर कसै न कसैले त सोध्ला भन्ने आस थियो ।
तर, सोचेजस्तो भएन । मेरा श्रीमान् बिहेको दुई महिनापछि विदेश जानुभयो । बिहेको दुई महिनामै बच्चा बस्यो । त्यसपछि लाग्यो, जिन्दगी अब यतिमै सकिने रहेछ । बिहेको एक वर्षमा छोरा जन्मिहाल्यो । बिहे भएपछि एक दिन पनि विद्यालय जान पाइनँ । कक्षा ११ को परीक्षा त जसोतसो दिएँ ।
कक्षा १२ को परीक्षा नजिक आइसकेको थियो । छोरा सानै थियो । परीक्षा दिन धेरै कठिनाइ थिए । कति कुरा व्यक्त पनि गर्न नसकिने रहेछ, तर पनि मैले हिम्मत हारिनँ ।
श्रीमान्ले मेरो कुरा बुझ्नुभएको थियो । पढाइप्रतिको मेरो चाह उहाँलाई थाहा थियो । उहाँ मेरो हरकदममा साथै हुनुहुन्थ्यो । अहिले पनि मलाई मेरो सपनाको साथमा मेरो श्रीमान् सँगै हिँडेजस्तो लाग्छ । उहाँको साथले धेरै हौसला दिन्छ । उहाँले ममा उत्साह भर्दै भन्नुभयो, ‘तिमीले पढ्नुपर्छ । जसरी भए पनि परीक्षा दिनुपर्छ ।’
यो सुनेर मलाई धेरै खुसी लागेको थियो । नेपाली समाज जहाँ पहिला बुबा, अनि लोग्ने अनि छोराको अधीनमा हुनुपर्छ । त्यहाँ कैयौं बुबाले छोरीको चाहको वास्ता गर्दैनन् । लोग्नेले सम्मान दिँदैनन् । छोराहरू केवल जिम्मेवारी भनेर करले हेर्छन् । त्यहाँ मैले श्रीमान्को साथ पाएँ । माइती गएर परीक्षा दिएँ । पास पनि भएँ ।
म कक्षा एकदेखि १२ सम्म कहिल्यै फेल भइनँ । पढाइमा मैले निरन्तर सफलता पाउँदा पनि ‘पढ्’ भनेर हौस्याउने मान्छे एकदमै कम थिए । सबै जना ‘बिहे भयो, बच्चा भयो, अब पढेर के गर्नु’ भन्थे ।
१२ पास गरिसेकपछि म अझै पढ्न चाहन्थेँ । बाहिर गएर पढ्ने कुरा त कसै गरे पनि सम्भव थिएन । न म छोरा थिएँ, न म उच्च जातीय, न म धनी १
मेरा लागि जताजतै छेकबार मात्रै थियो । त्यो छेकबार तोडेर पढ्न जानु निकै ठूलो कुरा थियो । आँट गरिहाल्न सक्दिनँ थिएँ । तर, भन्छन् नि, साँचो मनले चाहेको कुरा जसरी पनि पुग्छ । मेरो जीवनमा पनि त्यस्तै भयो ।
म जुन विद्यालयमा पढेकी थिएँ, त्यही विद्यालयमा बीएड पनि सञ्चालन भइसकेको रहेछ । १२ पास गरेपछि घरमा कसैले अब के पढ्ने भनेर नसोधे पनि साथीहरूले मलाई फोन गरे । उनीहरूले नै मलाई गाउँमा बीएड पढाइ हुन लागेको सुनाए । भर्ना पनि गरिदिने कुरा गरे । म ती साथीहरूप्रति आभारी छु ।
गाउँमै बीएड गर्न सक्ने कुरा मैले श्रीमान्लाई सुनाएँ । उहाँले ‘पढ्न त पढ, तर घरमा भन’ भन्नुभयो । घरमा म पढ्ने कुरा गर्न सक्दिनँ थिएँ । सीधै अस्वीकार हुन्छ भनेर म डराएकी थिएँ । मैले श्रीमान्लाई नै भनिदिन भनेँ ।
विदेशबाट उहाँले फोन गरेर घरमा भन्नुभयो । मैले पनि ‘गाउँमै पढाइ हुन्छ । म टाढा जाने होइन । गाउँमै पढ्छु’ भनेर सबैलाई मनाएँ । सबैले मान्नुभयो । र, एक दिन देवरले मेरो माइती गएर विद्यालयमा बीएडको फारम भरेर नाम लेखाइ दिनुभयो ।
नाम लेखाउँदादेखिको मेरो संघर्ष पढ्दा पनि जारी रह्यो । कक्षाहरू थुप्रै छुटे । माइतीमै बसेर कक्षा लिन सम्भव थिएन । यस्तोसम्म स्थिति थियो कि म सीधै जाँच दिन मात्र परीक्षा सेन्टर पुग्थेँ । त्यसैले धेरै विषयमा फेल भएँ । तीन वर्षको कोर्स मैले पाँच–छ वर्ष लगाएर बल्लतल्ल पास गरेँ ।
बिहेपछि मेरो पढाइको हालत त परीक्षाको नतिजाले नै देखाइहाल्यो । एक महिलाको जीवन बिहेपछि धेरै बदलिन्छ । सोचेजस्तो केही गर्न सकिँदैन । अनुमति नै अनुमतिको जालोले जीवन बेरिन्छ । तर, यी सबका बावजुद श्रीमान्को सहयोग भने मेरो मन बुझाउने बाटो थियो । उहाँकै साथ सहयोग र धेरै संर्घष गरेर यहाँसम्म पुगेँ ।
पढाइ सकेपछि मलाई घरमा यत्तिकै बस्न मन लागेन । म काम गर्न चाहन्थेँ । यो कुरा मैले श्रीमानलाई सुनाएँ ।
उहाँले धेरै जनालाई भन्नुहुन्थ्यो, ‘मेरी बूढी पढेलेखेकी छन् । काम गर्न चाहन्छिन् ।’
एक दिन समता फाउन्डेसनमा कामका लागि फारम खुलेको थाहा भयो । मैले पनि फारम भरेँ । फारम भरेको केही दिनमा अन्तर्वार्ताका लागि फोन आयो । म छानिएँ । अहिले म त्यहाँ युवा सद्भावना दूतका रूपमा काम गर्दै छु । मेरो काम दलित समुदायमाथि हुने हिंसा घटनाको विषयसँग सम्बन्धित छ ।
म आज पनि कम्प्युटर सिक्न चाहन्छु । आज पनि अगाडि बढ्न चाहन्छु । अहिले म दुई सन्तानकी आमा हुँ । एउटा छोरा र एउटी छोरी छन् । छोराको नाम युनिक र छोरीको नाम सृष्टि हो । मैले पढ्नका लागि गरेजस्तो संघर्ष मेरा छोरा र छोरीले गर्नु नपरोस् । अहिले मेरो घरमा घरको निर्णय ससुरा बुबाले गर्नुहुन्छ । उहाँकै निर्णयमा को के गर्ने भन्ने हुन्छ ।
अहिलेसम्म खासै पैसा कमाएकी थिइनँ । तर, समतामा काम गर्न थालेपछि आएको पैसा मैले आफ्नै खातामा राखेकी छु । भर्खरभर्खर पैसा पाउन थालेकी हुँ । मेरो श्रीमान्ले कमाएको पैसा घरमा दिनुहुन्छ र हामीलाई पैसा चाहिएमा घरबाटै दिनुहुन्छ ।
आफूले पैसा कमाउन थालेपछि, अलि बाहिरको संसार देख्न थालेपछि मलाई फेरि सपनाको मोह हुन थालेको छ । अब फेरि आफूले चाहेको गर्न सक्छु भन्ने लागेको छ । श्रीमान्ले त पहिल्यैदेखि नै मलाई साथ दिँदै आउनुभएको थियो । देवरले पनि साथ दिनुभएको छ ।
एक छोरी मान्छेलाई उसको सपना पूरा गर्न उसको परिवारमा निर्णय गर्ने मान्छेले साथ दिनुपर्ने रहेछ । प्रायः नेपाली समाजका घरमा यस्तो निर्णय गर्ने बुबा, दाइ, श्रीमान्, देवर, ससुरा नै हुन्छन् । त्यसैले म सबै पुरुष सदस्यलाई अनुरोध गर्छु– आफ्ना छोरी, बहिनी, पत्नी, बुहारीलाई उनीहरू के गर्न चाहन्छन् भनेर सोध्नुहोस् । सकेको सहयोग गर्नुहोस् । उनीहरूका पनि सपना हुन्छन् । उनीहरूलाई पनि सपना देख्ने हक छ ।
यो समाचार कान्तिपुर बाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्