राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि हस्तान्तरण गरिँदै ।

हेटौंडा । १५ औं संस्करणको केन्द्रीय स्तरको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि बागमती प्रदेशले जितेको छ । काठमाडौं महानगरपालिकाको दशरथ रंगशालामा बुधबारबाट सुरु भएर शुक्रबार सम्पन्न भएको प्रतियोगिताको उपाधिमाथि बागमती प्रदेशले कब्जा गरेको छ । उपाधि जितेको बागमती प्रदेशले ३६ स्वर्ण, ७ रजत र ११ काँस्यपदक प्राप्त गरेको छ । गत वर्ष सम्पन्न भएको १४ औं संस्करणको केन्द्रीयस्तरको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जितेको सुदूरपश्चिम प्रदेश भने यस वर्ष उपविजेता बनेको छ ।

सुदूरपश्चिम प्रदेशले १४ स्वर्ण, २० रजत र १८ काँस्यपदक प्राप्त गरेको छ । ५ वटा स्वर्ण, १३ वटा रजत र १५ रजत पदक प्राप्त गरेको लुम्बिनी प्रदेश तृतीय भएको छ । यस्तै, ४ स्वर्ण, ११ रजत र १७ काँस्य पदक प्राप्त गर्दै गण्डकी प्रदेश चौंथो भएको छ । पाँचौ भएको कर्णाली प्रदेशले ४ स्वर्ण, ६ रजत र १९ काँस्य पदक प्राप्त गरेको छ भने मधेश प्रदेश ३ स्वर्ण, २ रजत र १० काँस्य पदक प्राप्त गर्दै छैठौं स्थानमा परेको छ । स्वर्ण वीहिन बनेको कोशी प्रदेशले ७ रजत र ८ काँस्यपदकमा सीमित भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपाको तथा युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा विजेता बनेका खेलाडीहरुलाई विजेतालाई शुक्रबार एक समारोकाबीच पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोहमा राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, रञ्जना प्रधान र सुवर्ण श्रेष्ठ, राखेप सदस्य जगतसिंह धामीको उपस्थिति रहेको थियो ।

 

प्रतियोगिता सम्पन्न भएपछि खेलाडीसहित अन्य पदाधिकारीले सामूहिक तस्बीर खिचाउँदै ।

रातो समाचार संवाददाता
थप जानकारी