पर्सा । गत पुष २३ गते दिउँसो उखु खेतमा मृत फेला परेका पर्साको जगरनाथपुर गाउँपालिका–६ बस्ने १२ वर्षिय मन्टु प्रसाद कुर्मीको हत्या आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थान बस्ने ६४ वर्षिय गोवारी राउत अहिर, ५५ वर्षिय नग राउत अहिर, ३२ वर्षिय शत्रुधन प्रसाद यादव, ३० वर्षिय मनमोहन प्रसाद यादव र २५ वर्षिय रोहन प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

मन्टुको घाँटी थिचेर कर्तव्य गरी मारेर फालेको अवस्थामा शव फेला परेको थियो । सो घटनाको अनुसन्धानको सिलसिलामा पीडितबाट प्राप्त किटानी जाहेरी दरखास्त तथा हालसम्म खुलेका तथ्यहरुको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

आरोपित ५ जनालाई ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले छिपहरमाई गाउँपालिका–६ भिष्वास्थित नेपाल भारत सीमाबाट शनिबार पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुविरुद्ध हिजो अपहरण तथा कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानएको छ ।