हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको ७६ औँ कार्यपालिका बैठकले सडक विस्तारका कारण प्रत्यक्ष प्रभावित भएका घरधनी, व्यवसायी तथा सर्वसाधारणका समस्यालाई प्राथमिकता सहित समाधान गर्ने निर्णय गरेको छ। आइतबार बसेको कार्यपालिकाको बैठकमा उपमेयरवाट प्रस्तुत प्रतिवेदन आधारमा व्यापक छलफल गर्दै संरचना भत्किएपछि उत्पन्न अवस्थालाई व्यवस्थित गर्न ८ बुँदे निर्णय पारित गरिएको छ ।

सडक विस्तारका कारण घर, व्यापार तथा भवन भत्किएका नागरिकलाई आवास निर्माणका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउन संघीय र प्रदेश सरकारसँग सिफारिस गर्ने, व्यवसाय अवरुद्ध भएकालाई अस्थायी कारोबार अनुमति र कर छुट दिने व्यवस्था गर्ने निर्णय बैठकमा गरिएको छ।

त्यसैगरी, प्रभावितलाई राहत दिलाउन नगर–उद्योग–व्यवसायी संघसँग समन्वय गरी उपहार, दैनिक सेवा तथा निर्माण कार्य रोकिएर नबिग्रने व्यवस्था मिलाइने भएको छ। उपमहानगरपालिकाले हेटौंडालाई धार्मिक तथा प्राकृतिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न संघीय सरकारसँग पहल गर्ने, पहिचान झल्किने नमुना सडक निर्माण अघि बढाउने तथा नक्सापास (फास्टट्र्याक) प्रक्रियालाई छिटो पार्ने उल्लेख छ।

सडक विस्तारका कारण निर्माण गर्नुपर्ने नयाँ घरका लागि २०८० सालमा लागू भएको कर छुट तथा सहजीकरण निरन्तरता दिनुपर्ने प्रस्ताव पनि बैठकमा उठाइएको छ । उपमहानगरपालिकाका अनुसार, “सडक विस्तार विकासको अनिवार्य प्रक्रिया भए पनि नागरिकलाई परेको असर न्यून बनाउन सबै तहका सरकारी निकायसँग सहकार्य गर्दै अघि बढिने” छ ।

रातो समाचार संवाददाता
थप जानकारी