हेटौंडा । हेटौंडामा भोलि शुक्रबारबाट ११ औं राष्ट्रिय स्क्रयाबल प्रतियोगिता हुने भएको छ । हेटौंडा–२,स्थित बाल जागृति इंग्लिस सेकेण्डरी स्कूलको आयोजनामा तथा स्क्रयाबल क्लबको व्यवस्थापनमा भोलि शुक्रबार र पर्सी शनिबार अक्षरबाट शब्द मिलाउने स्क्रयाबल प्रतियोगिता हुने भएको हो । बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै बाल जागृति इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलका प्रिन्सीपल विनोद सुवेदीले मकवानपुरसहित अन्य २८ जिल्लाबाट प्रतियोगिहरु सहभागी हुने जानकारी गराएका छन् । मकवानपुर टिमको संयोजकको रुपमा विवश जंग थापा रहने छन् । विभिन्न जिल्लाबाट प्रतियोगिताका लागि छनौट भएका १०० जना खेलाडीहरुको प्रतियोगितामा सहभागिता रहने प्रिन्सीपल सुवेदीले बताए ।

राष्ट्रिय स्क्रयाबल प्रतियोगिताबाट छनौट हुने २५ जना खेलाडीहरुले अन्तर्राष्टिस्तरको प्रतियोगितामा सहभागिता जनाउन पाउने उनले बताए । बाल जागृति बोर्डिङबाट विभिन्न अन्तर्राष्ट्रियस्तरको स्क्रयाबल प्रतियोगितामा सहभागी हुँदै प्रसिद्ध तिम्लिसिनाले आफ्नो पहिचान बनाउन सफल भएको उनले बताए । भोलिबाट हुने प्रतियोगिताको उद्घाटन बागमती प्रदेशकी खेलकुद मन्त्री उर्मीला नेपालल गर्नुहुनेछ भने कार्यक्रमको समापन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले गर्नुहुनेछ । प्रतियोगिता सहभागी हुनेहरु सँग दर्ता शुल्क २ हजार रुपैयाँ लिइएको छ । प्रतियोगिता अवधीभर सहभागी खेलाडीहरुका लागि खाना र वास स्थानको व्यवस्था आयोजकले गरेको उनले बताए ।

प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ, दोस्रो हुनेले १३ हजार रुपैयाँ र तेस्रो हुनेले ११ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै चौंथो देखि १० औं स्थान हासिल गर्नेले ९ हजार रुपैयाँदेखि ३ हजार रुपैयाँको नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको पुरस्कारका लागि ९० हजार रुपैयाँ छुट्याइएको छ । देशमा ४००० हजार भन्दा अधिक क्लबको संयोजनमा २० वटा भन्दा अधिक भाषामा स्क्रयाबल खेल खेल्ने गरिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी