
हेटौंडा । हेटौंडामा तेस्रो संस्करणको मकवानपुर जिल्ला पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडा र मकवानपुर जिल्ला भलिबल संघको आयोजनामा आइतबारबाट तेस्रो संस्करणको पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको हो । हेटौंडा–४,हुप्रचौरस्थित भालिबल कोर्टमा सुरु भएको पहिलो खेलमा हेटौंडा उपमहानगरपालिकाको महिला टिमले जीत निकालेको छ । इन्द्रसरोवर गाउँपालिकालाई २५–१७ र २५–९ को सोझो सेटले हराउँदै हेटौंडाको महिला टिमले समूह चरणको पहिलो खेलमा जीत निकालेको हो ।
यस्तै, दोस्रो खेलमा भीमफेदी गाउँपालिकाको टिमले जीत निकालेको छ । मकवानपुरगढी गाउँपालिकाको टिमलाई समूह चरणको दोस्रो खेलमा भीमफेदीले २५–१५ र २५–१८ को सोझो सेटले पराजित गरेको छ । यस्तै, तेस्रो खेलमा बकैया गाउँपालिकाको महिला टिमले जीत निकालेको छ । बागमती गाउँपालिकाको महिला टिमलाई २५–१४ र २५–१३ को सोझो सेटले हराउँदै बकैयाले जीत निकालेको हो । प्रतियोगिता अन्र्तगत आइतबारको अन्तिम तथा उद्धाटन खेलमा थाहा नगरपालिका र भीमफेदी गाउँपालिकोको टिमबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेर ३० मिनेटबाट सुरु हुनेछ । प्रतियोगिताको सेमीफाइनल तथा फाइनल खेल मंगलबार हुनेछ ।
पालिकास्तरीय प्रतियोगिता सुरु हुन १ दिन पहिला हेटौंडाका महिला टिमलाई नगर खेलकुद विकास समिति मार्फत जर्सी लगायतका सामाग्री सहयोग गरिँदै ।
प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँको नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ८० हजार रुपैयाँको नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा सान्त्वना हुने टिमले ३० हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । उपमहानगरपालिकाको मुख्य सहयोगमा सुरु भएको प्रतियोगिता सम्पन्न गर्नका लागि ७ लाख रुपैयाँ बजेट खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितामा मकवानपुरको ७ वटा पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताका लागि मकवानपुर जिल्ला खेलकुद विकास समिति र नगर खेलकुद विकास समितिको पनि सहकार्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्