हेटौंडा । हेटौंडामा सडक विस्तारको क्रममा भत्काइएको घर सफाइ गर्ने क्रममा  एक कामदार दुर्घटनामा परेर घाइते भएको  छ। बुधबार बिहान ७ बजेर ५० मिनेटको समयमा मकवानपुर  उद्योग वाणिज्य संघ अगाडि रहेको सुदिप थापाको घरको माथिल्लो दुई तल्लाको ढलान अचानक खस्दा कामदार जितेन्द्र माझी घाइते भएका हुन् ।

रौतहट माधवनारायण नगरपालिका वडा-७ लौकाहा घर भई हाल हेटौंडा–१० बुद्धचोकमा बस्दै आएका १९ वर्षीय माझीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ ।

घाइते माझीलाई ठेकेदार नविन शाहले तुरुन्तै हेटौंडा अस्पतालमा लगेर उपचार गराइरहेको जानकारी प्राप्त भएको छ । सडक विस्तारसँगै भइरहेको संरचना ध्वस्तीकरण तथा सफाइ कार्यमा पर्याप्त सुरक्षा र सतर्कता नअपनिँदा जोखिम बढ्दै गएको स्थानीयले बताएका छन् । घटनाबारे प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइरहेको छ ।