प्रहरीले बरामद गरेको सामानहरु ।

हेटौंडा । बीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको गाडीमा भन्सार छलि गरी लुकाइ–छिपाइ ल्याइएका कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थसहित २ जना पक्राउ परेका छन् ।

शुक्रबार बिहान करिब ४ बजेर १० मिनेटको समयमा  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे स्थित चार्जिङ स्टेशन अगाडिको पूर्व–पश्चिम राजमार्ग खण्डमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले मधेश प्रदेश ०३–००१च ९०२३ नम्बरको योद्धा गाडीलाई शंका लागि रोकेर खानतलासी गर्दा ठूलो परिमाणको अवैध सामान फेला परेको प्रहरीले जनाएको छ ।

गाडीको पछाडिको ढालाभित्र लुकाइएको अवस्थामा करीब रु.१४ लाख मूल्य बराबरको साडी १३० थान, कुर्था ६९६ थान र टप्स १७५ थान गरी १,००१ थान कपडा बरामद गरिएको छ । साथै रु.२० लाख बराबरका प्रतिबन्धित पटकाजन्य झिरझिरे लगायतका पदार्थहरु समेत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त गाडीका चालक रौतहट बृन्दाबन नगरपालिका–९ का २० वर्षीय प्रदीप कुमार चौधरी र सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद सामग्रीसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार, भन्सार छलि र प्रतिबन्धित वस्तुको गैरकानुनी ओसार–पसारमा संलग्न समूहमाथि पनि अनुसन्धान सुरु गरिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी