नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले पहिलोपटक स्वदेशमै बनेको ‘युनिफर्म’ (विभागीय पोसाक) लगाउन थालेका छन्।

यस्तो पोसाकका लागि आवश्यक कपडा नेपालमै उत्पादन हुन थालेको छ। आपूर्तिकर्ताले पर्सा–बारा करिडोरमा रहेको क्राउन टेक्सटाइल इन्डस्ट्रिजमा बनेको र कोहिनुर टेक्सटाइल इनडस्ट्रिजले ‘डाइङ’ (रङ) गरेको कपडा सुरक्षा निकायलाई उपलब्ध गराउन थालेका छन्।

ऊनी पोसाकका कपडा लगायत प्रहरीका कपडा नेपालमै बन्ने गरे पनि सेना र प्रहरीको पोसाक (चुस्ता) को कपडा यसअघि स्वदेशमा उत्पादन हुँदैनथ्यो। यसअघि विदेशबाट आयातित कपडा प्रयोग हुँदै आएको थियो। अब सुरक्षाकर्मीको पोसाकका लागि पैठारी हुने कपडाको आयात प्रतिस्थापित भएको छ। डी सप्लायर र जय सलिना इन्टरप्राइजेजले यस्ता कपडा आपूर्तिको जिम्मा लिएका छन्।

नेपाली सेनाको लागि ६ लाख मिटर, नेपाल प्रहरीलाई २ लाख ५० हजार मिटर र सशस्त्र प्रहरीका लागि ७० हजार जोडी तयारी चुस्ता पोसाक आपूर्तिको जिम्मा पाइएको क्राउन टेक्सटाइलका सञ्चालक पिताम्बरकुमार मुन्काले जानकारी दिए।

आपूर्तिको जिम्मा लिएका फर्महरूले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई विदेशबाट आयातित कपडा उपलब्ध गराउँदै आएका थिए। चालु आर्थिक वर्षदेखि स्वदेशी कपडा आपूर्ति हुन थालेको हो। वीरगन्जकै क्राउन टेक्सटाइलसँगको सहकार्यमा कोहिनुरले यस्तो कपडाको उत्पादन गरेको छ। ‘हाम्रो लागि यो सुखद हो, सुरक्षाकर्मीको पोसाकका लागि चाहिने सबै खालको कपडा स्वदेशमै उत्पादन हुन थालेको छ,’ मुनकाले भने, ‘आयातमा बर्सेनि ५० करोड रूपैयाँ बाहिरिने गरेकोमा बाहिरबाट कपडा ल्याउनुपर्ने त्यसतो बाध्यता हटेको छ।’

उनका अनुसार यो देशकै लागि पनि हितकर र गर्वको विषय हो। कोहिनुरले चुस्ताको कपडा उत्पादन गर्नका लागि ५ करोड रूपैयाँको आधुनिक मेसिनरीहरू उद्योगमा थपेर ४ महिना अगाडिदेखि यस्तो नयाँ खाले कपडा उत्पादन गर्न थालेको यसका सञ्चालक राजेशकुमार कुशवाहले बताए।

उक्त उद्योग १ दशकदेखि सञ्चालनमा छ। उद्योगले सेना र प्रहरीका लागि यो कपडा उत्पादनमा आवश्यक उकरणमा मात्रै थपेको छैन। करिब ५० जना कामदार कर्मचारी पनि बढाएको छ। यहाँ अहिले ३ सयजना काम गर्छन्। उद्योगले कपडा बनाउन प्रयोग हुने धागो, रंगलगायगत कच्चा पदार्थ भने बिदेशबाट आयात गर्दै आएको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो