बारा । ईन्टरनेट सेवा प्रदायक सुबिसुले २१ औं वार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बाराको कलैया उपमहानगरपालिकास्थित भरत चौकमा आयोजित रक्तदान कार्यक्रममा २ महिलासहित २२ जनाले रक्तदान गरेका छन् ।

बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म आयोजना गरिएको रक्तदान कार्यक्रममा सुबिसुकै बिकेश गुप्ताले रगतदान गरि कार्यक्रमको सुरुवात गरिएको थियो भने खुश्बु सर्राफ, अभिमन्यु प्रसाद गुप्ता, बाबुलाल मंडल, मयंक गुप्ता, राम प्रसाद भगत, रुपेश प्रसाद यादव, दिपेन्द्र पटेल, अजय कुमार महतो, आमिर अंसारीसहित २२ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा बोल्दै सुबिसुका कलैया शाखा प्रमुख हरेराम पंडितले रक्तदान जत्तिको पुण्यको काम अरु नहुने भन्दै सबैलाई रक्तदानका कार्यक्रममा सहभागी हुनुपर्ने बताएका छन् । उनले रगतको अभावमा कोही कसैले अकाल मै ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले सुबिसुको वार्षिकोत्सवको अवसर पारी रक्तदान कार्यक्रम गरिएको जानकारी दिए । रक्तदानले धेरैको जीवन बचाउने उल्लेख गर्दै उनले यस्ता कार्यक्रमहरु निष्पक्षरुपमा समाजको भलाईका लागि हुने भएकोले निशंकोच भएर रक्तदान कार्यक्रममा सहभागी हुनुपर्ने बताएका हुन् ।