हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८,स्थित सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्थाले सहकारी मेलाको आयोजना गर्ने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यही मंसीर २६ र २७ आयोजना गर्न लागेको सहकारी मेलाको बारेमा जानकारी गराएको छ ।

संचिती सहकारी र अन्य सहकारीहरुले उत्पादन गरेको सामाग्रीको स्टलहरुको प्रर्दशनी मेलामा गरिने सहकारीका अध्यक्ष रामबहादुर मुक्तानले जानकारी गराएका छन् । सहकारीले वार्षिक साधारण सभाको अवसरमा आयोजना गर्न लागेको पहिलो सहकारी मेलामा करिब ५० वटा सामानहरुको स्टलहरु रहने र अन्य ठाउँमा भन्दा सुपथ मूल्यमा राम्रो सामाग्रीहरु पाउने अध्यक्ष मुक्तानले बताए ।

मेला कमानेस्थित शुभम पार्टी प्यालेसमा हुने बताइएको छ । २ दिनसम्म सञ्चालन हुन उक्त सहकारी मेलामा २० हजार जनाको हाराहारीमा मानिसहरु अवलोकन गर्न आउने अनुमान गरिएको छ । कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँनले गर्नेछन् । ३ हजार १ सय जना सदस्य रहेको सहकारीले आर्थिक वर्षमा २४ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्न सफल भएको उनले बताए ।