अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौतामा विमति बढ्दा सत्ता गठबन्धन विघटनको संघारमा पुगेको छ । नयाँ गठबन्धनका लागि कांग्रेस र एमाले निर्णायक संवादमा छन्, यद्यपि वाम गठबन्धन बनाउन मसिनो अग्रसरता पनि सुरु भएको छ । अब कांग्रेससँग लोकतान्त्रिक वा पुराना सहयात्रीसँग वाम गठबन्धन बनाउने भनेर छान्ने सुविधा एमालेलाई प्राप्त भएको छ ।

एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गर्ने विषयमा पाँचदलीय गठबन्धनभित्र सहमत नभएपछि कांग्रेस र एमालेबीच दुई सातायता सघन वार्ता हुँदै आएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार सामूहिक र एक्लाएक्लैसमेत छलफल भए । बिहान बानेश्वरस्थित संसद् भवन र साँझ बालुवाटारमा भएका वार्ता सहमति नजिक पुगेको भन्दै नेताहरूले शुक्रबार फेरि बस्ने जनाएका छन् ।
बालुवाटार बैठकमा सामूहिक छलफलपछि देउवा र ओलीबीच एक–एक सहयोगी नेता राखेर एक घण्टासम्म छलफल भएको थियो । देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई साथमा राखेर खुलस्त छलफल गरेका थिए । स्रोतका अनुसार सभामुखविरुद्ध प्रस्ताव ल्याउनेबाहेक धेरै विषयमा दुई नेताबीच समझदारी बनेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष ओलीले ‘माओवादीलाई कहिले तपाईंहरूले बोक्ने, कहिले हामीले बोक्ने नगरौं’ भन्ने प्रस्ताव गरेका थिए । प्रधानमन्त्री देउवाले पनि गठबन्धनका साझेदारहरूले आफूलाई धोका दिएको भन्दै ओलीको प्रस्तावमा समर्थन जनाएका थिए । ‘गठबन्धनवालाले मलाई धोका दिए । तपार्इं–हामी मिलेर जानुपर्‍यो । एमसीसी सम्झौता पनि अनुमोदन गर्नुपर्‍यो । तपाईंहरू जे भन्नुहुन्छ अब त्यो गर्न तयार छु,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने । उनका अनुसार ओलीले दोहोर्‍याएर भनेका थिए, ‘जे गर्ने हो तपाईं–हामी दुई पक्ष बसेर गरौं । अब माओवादीलाई सिनबाट कटाऔं ।’

दुईपक्षीय छलफलमा एमसीसी अनुमोदनका लागि एमाले र कांग्रेस मिलेर जाने, देउवा सरकारले नै संघीय निर्वाचन गराउने, प्रदेश सरकारमा साझेदारी गर्ने र सभामुखविरुद्ध प्रस्ताव ल्याउने विषयमा छलफल अगाडि बढेको छ । बैठकमा सहभागी नेताले भने, ‘यति बुझ्नुस् हालको गठबन्धन टुट्यो । औपचारिक रूपमा घोषणा हुन मात्रै बाँकी हो ।’

पछिल्लो पटक एमाले अध्यक्ष ओलीसँग प्रत्यक्ष र सहयोगीमार्फत लगातार छलफलमा रहेका देउवा सत्ता गठबन्धन टुटेमा सरकारको भविष्य के हुन्छ भन्ने चिन्तामा थिए ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । माओवादी र समाजवादी सरकारबाट बाहिरिएपछि आफूलाई समर्थन नदिएर ओली आफैं प्रधानमन्त्री बन्ने अभ्यासमा लाग्ने हुन् कि भन्ने आशंका देउवालाई थियो । दुई नेताबीचका ‘वान अन वान’ भेटमा अविश्वास हटाउने काम भएको स्रोतले बतायो ।

‘एमसीसी सम्झौता अनुमोदन हुँदा माओवादी र समाजवादी सरकारबाट बाहिरिए सरकार अल्पमतमा परे पनि विश्वासको मत दिन एमाले सहमत भएको छ, तत्कालै सरकारमा जान पनि एमाले इच्छुक छैन, बरु प्रदेश सरकारमा एमालेको चासो छ, त्यसमा कांग्रेस सकारात्मक छ,’ कांग्रेस स्रोतको भनाइ छ ।

यो समाचार कान्तिपुरमा साभार छ