प्रतिनिधि सभामा अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतामाथि छलफलको प्रक्रिया राजनीतिक सहमतिका लागि स्थगन गरिएको छ । सम्झौता अनुमोदनको विषयमा सत्ता गठबन्धन नै विभाजित भएपछि प्रतिपक्षसँग समेत थप छलफल गर्न सरकारको आग्रहमा बैठक स्थगित गरिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटासमक्ष कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिका लागि बैठक स्थगित गरिदिन आग्रह गर्नुभएको थियो । मन्त्रीद्वयको आग्रहपछि बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

राजनीतिक सहमतिको प्रयासका लागि सरकारले छलफलको समय सार्न आग्रह गरेको हो । बैठक स्थगित लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्तासमेत भयो । एमालेले हाल एमसीसीमा कुनै स्पष्ट धारणा बनाएको छैन । सत्ता पक्षसँग बहुमत रहेकाले प्रतिपक्षले सरकारको बिजनेस कसरी अघि बढाउने भन्ने एमालेको विषय नभएको एमाले नेताहरूले बताउनुभएको छ ।

एमाले सचिव एवं सांसद योगेश भट्टराई सरकारसँग बहुमत रहेकाले पारित हुने नहुने विषय प्रतिपक्षको सरोकारको विषय नभएको बताउनुभयो । सत्ता गठबन्धन सम्झौताका विषयमा विभाजित छ । माओवादी केन्द्रले विपक्षमा मत
अडान लिइरहेको छ भने नेकपा (एकीकृत समाजवादी) एमसीसीको विषयमा विभाजित छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धन जे जस्तो भए पनि यथास्थितिमा एमसीसीको पक्षमा मत नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धन बन्छन् भत्किन्छन्, मुख्य कुरा राज्यको सार्वभौमिकताको प्रश्न हो । हामी यथास्थितिमा एमसीसीको पक्षमा मतदान गर्दैनौँ ।”

एमसीसी निर्णायक बन्दै जाँदा गठबन्धन कसरी अघि बढ्ने अन्योलमा परेको छ । गठबन्धनका दलहरू नै अलमलमा परेपछि सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले प्रमुख विपक्षी दल एमालेसँग संवाद अघि बढाएको छ । काँग्रेस सांसद मीन विश्वकर्माले गठबन्धनको भविष्य र एमसीसीको विषय चाँडै निक्र्योल हुने बताउनुभयो । फागुन ८ गतेको बैठकमा सम्झौता पेस भएको थियो । अर्थमन्त्रीको अनुपस्थितिमा सञ्चारमन्त्री कार्कीले प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावमा बिहीबारदेखि सैद्धान्तिक छलफल अघि बढाउने तयारी भए पनि प्रस्ताव स्वीकृत हुने वा नहुने अन्योलका कारण सरकारकै आग्रहमा बैठक सारिएको हो ।

यो समाचार गोरखापत्र मा साभार छ