गृहमन्त्री बालकृष्ण खाणले नेपाली भूमि कुनै मित्र राष्ट्रको विरुद्धमा प्रयोग हुन नदिइने बताउनुभएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नितान्त विकास र समृद्धिका लागि भएको उहाँले स्पष्ट पार्नुभयो ।पक्लिहवा माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोहलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै उहाँले नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य भएकाले पञ्चशीलका सिद्धान्तलाई अनुसरण गर्दै असंलग्न परराष्ट्र नीतिप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभयो । यो सम्झौता लागू हुदैमा नेपाली भूमि मित्र राष्ट्रविरुद्ध प्रयोग हुने, अमेरिकी सेना नेपाल आउनेजस्ता गलत भ्रम नफैलाउन सबैलाई आग्रह गर्दै मन्त्री खाणले एमसीसी नेपालको हितमरहेको बताउनुभयो ।

उहाँले भन्नुभयोे, ‘‘एमसीसी सम्झौतापछि कुनै पनि देश सशङ्कित हुनुपर्ने छैन, मित्र राष्ट्रको विरुद्ध नेपाली भू–भाग प्रयोग हुन दिँदैनौँ ।’’ विद्युत् र सडक विकासका लागि एमसीसी सम्झौता भएको प्रस्ट्याउँदै उहाँले सहयोग सैन्य प्रयोजनका लागि नमागिएको र सैन्य प्रयोजनमा प्रयोग पनि नहुने बताउनुभयो ।

सम्झौताका विषयमा अनावश्यक राजनीति गरी जनतामा भ्रम सिर्जना गर्न खोजिएको भन्दै गृहमन्त्री खाणले राष्ट्रियता र लोकतन्त्रका विरुद्धमा वर्तमान सरकारले कसैसँग कुनै सम्झौता नगर्ने बताउनुभयो । अर्को प्रसङ्गमा उहाँले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने भन्दै निर्वाचन हुन्न कि भन्ने भ्रम नराख्न आग्रह गर्नुभयो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो