रौतहट । जन्ती जाँदै गरेको स्कार्पियो दुर्घटना हुँदा रौतहटमा ६ जनाको मृत्यु भएको छ । आज साँझ जिल्लाको गरुडा नगरपालिका-१ जयनगर स्थित गौर च-पुर सडक खण्डमा स्कार्पियो दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा रौतहटको गढीमाई नगरपालिका-३ गम्हरीया टोल बस्ने १६ वर्षिय शेख नैसाद, सोही स्थान बस्ने २२ वर्षिय शेख सैनुल्लाह, ५५ वर्षिय डा.मेसाफिर अन्सारी रहेका छन् ।

यस्तै, २५ वर्षिय शेख छोटु, १५ वर्षिय शेख अजिबुल्लाह र नाम, थर, वतन नखुलेको ४०/४५ वर्षिय एक पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिए ।

गौरबाट जयनगर तर्फ जाँदै गरेको बीआर ०५ पिए ६९५३ नम्बरको स्कार्पियो नरकटियावाट गमहरीयामा जाँदै गरेको अवस्थामा गरुडा-१ जयनगरमा आफै अनियन्त्रित भई खेतमा पल्टिएको हो ।

दुर्घटनामा गढीमाई-३ बस्ने १६ वर्षिय शेख अलफाज, १५ वर्षिय शेख अमानत र १७ वर्षिय शेख करिमुल्लाह घाईते भएका छन् । उनीहरुमध्ये अलफाज र अमानतको अवस्था गम्भीर रहेको छ । तिनै जना घाईतेहरुको गरुडास्थित ग्राण्डी हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।