पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–२, लगामका ३३ वर्षीय पुष्कल पौडेलका लागि चार वर्षअघि रहरमा गरेको चित्र बनाउने काम अहिले परिवार धान्ने प्रमुख पेसा भएको छ । सुरुमा देउताको चित्र कोर्दै गर्दा पछि सिमेन्टबाट ठूलाठूला आकारमा मूर्ति बनाउने रहर जागेपछि उहाँले मूर्ति बनाउन थाल्नुभयो । “सक्छु कि सक्दिनँ भन्ने दोधारमै मूर्ति बनाउन थालेँ । पहिलो मूर्ति भगवान् शिवको बनाउन सफल भएँ,” पौडेलले भन्नुभयो । मूर्ति बनाउने पेसाबाट वार्षिक आठदेखि १० लाख रुपियाँ कमाइ गर्ने गरेको उहाँको दाबी छ । उहाँको सो पेसाबाट १३ जनाको सगोल परिवारको गुजारा पनि चलेको छ ।

उहाँले बनाएको मूर्तिको मूल्य १५ हजारदेखि डेढ लाख रुपियाँसम्म पर्छ । भगवान्का मूर्ति मात्र होइन, अहिले सालिक खोज्ने पनि प्रशस्त भएकाले आफ्नो कमाइ बढ्दै गएको उहाँले बताउनुभयो । माध्यमिक तहसम्मको अध्ययन गर्नुभएका पौडेल मूर्ति तथा सालिक बनाउन छिमेकी जिल्ला कैलाली, डोटीसम्म जान थाल्नुभएको छ । मूर्ति बनाउने पेसा थालेपछि पुरानो पेसा कृषि पनि उहाँले छोडिसक्नुभएको छ । परिवारका अन्य दाजुभाइ कमाइ गर्न भारत गए पनि उहाँ भने मूर्ति बनाउने पेसामै रमाउनुभएको छ । भारत गएका दाजुले मासिक १८–२० हजार रुपियाँ कमाउने गरेको बताउँदै उहाँले आफूले एउटै मूर्तिबाट डेढ लाख रुपियाँसम्म कमाउने गरेको जानकारी दिनुभयो । सुरुमा उहाँ पनि कमाइ गर्न भारत जानुहुन्थ्यो ।

तीन फिटको मूर्ति बनाउन ११ दिन लाग्ने उहाँको भनाइ छ । नेपाली काँग्रेस सुर्खेतका पूर्वसभापति एवं पूर्वमन्त्री स्व. तप्तबहादुर विष्टको सालिक ५० हजारमा, कैलाली मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावलको सालिक डेढ लाखमा बनाएको बताउँदै पौडेलले मूर्ति तथा सालिक बनाउन सम्बन्धित घरमै जाने गरेको बताउनुभयो । उहाँको कलाको प्रचार भएपछि अहिले मूर्ति तथा सालिक बनाउन भ्याइनभ्याइ भएको बताउनुहुन्छ । मूर्ति बनाउने सीप आफूले अहिलेसम्म कसैबाट नसिकेको भन्दै बजारमा साँचोबाट मूर्ति बनाउने गरेको तर आफूले सिमेन्ट, बालुवाबाटै मूर्ति, सालिक बनाउने गरेको जानकारी उहाँले दिनुभयो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो