हेटौंडा । हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा सञ्चालन भइरहेको पाँचौ संस्करणको मेयरकप फुटबल प्रतियोगिताको दुई खेल वर्षाको कारणले प्रभावित भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको मेयरकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार हुने भनिएको २ खेल वर्षाको कारणले प्रभावित परेको हो । वर्षाको कारणले हेटौंडा–१० र हेटौंडा–१९ बीचको खेल स्थगित भएको छ भने हेटौंडा–१ र हेटौंडा–१४ बीचको खेल स्थगित भएको छ । यस अघि आइतबार भएको प्रि–क्वाटरफाइनल चरणको पहिलो खेलमा हेटौंडा–१३ लाई ३–१ गोलले हेटौंडा–३ ले पराजित गरेको थियो भने दोस्रो खेलमा हेटौंडा–१६ लाई टाइब्रेकरमा ४–२ गोलले हेटौंडा–९ ले पराजित गरेको थियो ।

सोमबार बिहान भएको वर्षाको कारणले मैदानको संरचनामा परिवर्तन आएको कारणले प्रतियोगिता स्थगित गर्नुपरेको समितिका अध्यक्ष रवीन्द्र प्रसाद घिमिरेले जानकारी दिएका छन् । गएको बैशाख महिनामा रंगशालामा सप्ताह लगाएको कारणले खेल मैदानको संरचनामा परिवर्तन आएर चौरमा पानी जमेको कारणले प्रतियोगिता स्थगित गर्नुपरेको अध्यक्ष घिमिरेले बताए । नगर खेलकुदका सदस्य सुनिल लोप्चनले वर्षाको कारणले चौरमा पानी जमेको कारण खेल खेलाउन सम्भव नभएको बताएका छन् । उनका अनुसार उक्त दुबै खेल भोलि मंगलबार सञ्चालन गरिने छ । सोमबार स्थगित भएका दुई खेल मंगलबार सञ्चालन हुनेछ भने फाइनल खेल जेठ १४ गते हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि २० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गर्दा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकका लागि जनही १०÷१० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ । गत वर्षको प्रतियोगिताको उपाधि जितेको हेटौंडा–४ हेटौंडा–११ सँग उद्घाटन खेलमै पराजित भइसकेको छ ।