उदयपुर सदरमुकाम गाईघाटमा सम्पन्न ‘मिस्टर उदयपुर शारीरिक सुगठन च्याम्पियनशिप २०७८’ को उपाधि तेजबहादुर हमालले चुमेका छन्। गत शनिबार सम्पन्न प्रतियोगितामा कटारी नगरपालिका उदयपुरका हमालले १२ सहभागीहरुलाई पछि पार्दै उपाधि चुम्न सफल भएका हुन्।

विभिन्न १३ जना प्रतिस्पर्धीले भाग लिएको प्रतियोगितामा विजेता बन्न सफल हमालले ५१ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन्। आयोजक इनर्जी फिटनेश क्लवको तर्फबाट सहभागी रहेका हमालले जिल्लामा भएका हालसम्मकै ठूलो नगद राशीको पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ।

उनलाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले १० लाखको मेडिकल बिमा सुविधासमेत दिने घोषणा गरेको छ। जसमा १८ वटा घातक रोगहरु र दुर्घटना विमासमेत रहेको कम्पनीले जनाएको छ। इनर्जी फिटनेश क्लव उदयपुरद्वारा आयोजित प्रतियोगितामा स्टार बडी फिटनेश क्लव गाईघाटका दिलिप चौधरी उपविजेता भएर २५ हजार नगदको भागीदार भएका छन्।

सोही क्लवका महेश तामाङले तेस्रो स्थान पाएर १५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन्। गाईघाटको होटल टाउन हलमा आयोजित प्रतियोगिताका सहभागीहरुले विभिन्न ७ पोजिसनमा प्रस्तुती दिएका थिए।

त्रियुगा नगरपालिकाका उपमेयर देवीकुमारी चौधरी र शारीरिक सुगठन, प्रदेश नं. १ का अध्यक्ष केशब श्रेष्ठले विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे। प्रतियोगिताको निर्णायक मण्डलमा अन्तराष्ट्रिय निर्णायक शिव मुखिया, राष्ट्रिय खेलाडी एवम् निर्णायक पूर्ण तामाङ, शारदा दाहाल र राम दाहाल थिए।

यसअघि उदयपुरमा स्टार बडी फिटनेश क्लव, गाईघाटले २ पटक प्रतियोगिता सम्पन्न गरिसकेको छ। पछिल्लो समय युवाहरुमा शारीरिक सुसंगठनप्रति मोह बढ्दै गएका बेला कोभिड कहर सुरु भएपछि प्रतियोगिताहरु रोकिन पुगेका थिए। कोभिड सहज भएसँगै इनर्जी फिटनेसले प्रतियोगिता आयोजना गरेको क्लवका सञ्चालक मनोज कटुवालले बताए।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो