रेफ्रिलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ ।

हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रष्ठिान हेटौंडा र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा सुरु भएको तेस्रो संस्करणको मकवानपुर जिल्ला पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उद्धाटन खेलमा थाहा नगरपालिकाले जीत दर्ता गरेको छ । आइतबार हेटौंडा–४,हुप्रचौरस्थित भलिबल कोर्टमा भएको चौंथो खेलमा भीमफेदी गाउँपालिकाको महिला टिमलाई २५–१४ र २५–२१ को सेटले थाहा नगरपालिकाको महिला टिमले हराएको छ ।

केशव लाल स्मृति केन्द्रीय प्रतिष्ठानका अध्यक्ष प्रताव विष्ठको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्धाटन गरिएको हो । प्रतियोगितामा मकवानपुर जिल्ला खेलकुद विकास समिति र नगर खेलकुद विकास समितिको सहकार्य रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँको नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ८० हजार रुपैयाँको नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा सान्त्वना हुने टिमले ३० हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि ७ लाख रुपैयाँ बजेट खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितामा मकवानपुरको ७ वटा पालिकाको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तर्गत भोलि सोमबार समूह चरणको अन्तिम खेलहरु सञ्चालन हुनेछ । पहिलो खेलमा हेटौंडा र बकैया, दोस्रो खेलमा इन्द्रसरोवर र बागमती, तेस्रोमा थाहानगर र मकवानपुरगढी, चौंथोमा बकैया र इन्द्रसरोवर तथा अन्तिम खेलमा हेटौंडा र बागमतीको टिमबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ६ बजेबाट सुरु हुनेछ ।

उद्धाटन कार्यक्रममा भलिबलका राष्ट्रिय प्रशिक्षक जगदिश भट्ट, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजुमार मुक्तान, कार्यालय प्रमुख माधव कोइराला, हेटौंडा नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र प्रसाद घिमिरे, थाहा नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष टिकाराम स्याङ्तान लगायतको उपस्थिति रहेको थियो ।