हेटौंडामा पहिलो पटक पशु कल्याण गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो “हेटौंडा एनिमल एण्ड डग वेलफेयर क्लब” । गत कार्तिक महिनादेखि युवाहरूले सुरु गरेको यस क्लबले मकवानपुर जिल्लाभर कार्यगर्दै आइरको छ ।

हाल स्थायी शेल्टर नभए पनि सडक तथा सामुदायिक पशु संरक्षणमा सक्रिय भूमिका खेलेको छ। संस्थाले प्रत्येक महिना ५०–१०० वटा पशुहरूको उपचार गर्दै आएको छ । रेबीज, डिस्टेम्पर र एन्टि–प्यारासाइटिक लगाएतका खोपहरु प्रदान गर्दै आएको छ।

गत पौष महिनामा मात्रै १५ भन्दा बढी गम्भीर घाइते कुकुरहरूको उपचार गरिसकेको छ भने संस्थाका स्वयंसेवक र सदस्यहरूले दैनिक ६०–७० वटा सामुदायिक कुकुरलाई नियमित खाना खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

मकवानपुर जिल्लामा रहेका परित्यक्त, सामुदायिक कुकुर तथा अन्य पशुहरूको अधिकार सुनिश्चित गर्नु, गाँस, बास र संरक्षण प्रदान गर्नु संस्थाको मुख्य उद्देश्य रहेको संस्थाका अध्यक्ष सजल पौडेलले बताए । अध्यक्ष पौडेले आवश्यकताअनुसार कार्यक्षेत्र विस्तार गर्ने योजना रहेको छ।

संस्था दर्ता भएको दुई महिनाभित्रै २५ भन्दा बढी कुकुरहरूको उपचार गरिसकेको छ। संस्था हालसम्म आफ्नै खर्चमा पशु अधिकारका लागि आवाज उठाउँदै आएको छ र हाल स्थायी पशु आश्रय स्थल निर्माण तथा स्वयं सेवकहरूको घरमा सानो शेल्टर स्थापना गर्ने योजनामा काम गरिरहेको छ। साथै आगामी दिनमा हरेक वडामा पशु कल्याण सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको छ।

हालै मकवानपुरगढी गाउँपालिकामा कुकुर माथि खुकुरी प्रहार गरिएको घटनापछि क्लबले मकवानपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दर्ता गराएको थियो। घटनाको छानबिनका क्रममा सम्बन्धित युवाले आफ्नो गल्ती स्वीकार गर्दै भविष्यमा यस्ता कार्य नगर्ने तथा उक्त कुकुरको रेखदेख गर्ने प्रतिबद्धता जनाए पछि जरिवाना सहित आपसी सहमतिमा मुद्दा टुंग्याइएको क्लबले जनाएको छ। संस्थाका गतिविधिहरू www.handwelfare.org.np मा गएर हेर्न सकिनछ। साथै, संस्थाका सामाजिक सञ्जालहरू hand_welfare नामबाट सञ्चालनमा रहेका छ। संस्था संग जोडिन चाहने वा पशु सम्बन्धी सहयोग आवश्यक परेमा वेबसाइटमा उल्लेखित फोन नम्बरमार्फत सम्पर्क गर्न सकिनेछ। दानका लागि QR कोड तथा बैंकिङ विवरण पनि सोही वेबसाइट तथा सामाजिक सञ्जालहरूमा उपलब्ध रहेको संस्थाले जनाएको छ।