मकवानपुरको कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटन गरिएको छ ।

वडा नम्बर –३ स्थित कालिकाटारमा २६ कोठे नवनिर्मित प्रशासकिय भवनको जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलालद्धारा बुधबार उद्घाटन गरिएको हो ।

भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट कुल २ करोड बजेट उपलब्ध गराईएको थियो । लागत अनुमान ३ करोड ९७ लाख १४ हजार ९९० रुपैयाँ ९८ पैसा भएपनि सार्वजनिक खरिद ऐन बमोजिक ठेक्का लगाउँदा ३ करोड १८ लाख ५३ हजार ९२५ रुपैयाँ ११ पैसामा २०७७ साल असाढ ७ गते गाउँपालिकाले निर्माण कम्पनी रविनरअविसा जेभीसंग २०७८ पुष ७ गते सम्पन्न गर्ने गरि सम्झैता गरेको थियो ।

यसै विच विभिन्न समस्या खेप्दै आएको गाउँपालिकामा भवनका लागि जिल्ला समन्वय समितिबाट प्राप्त बजेटको उचित उपयोग गरेकोमा प्रमुख खुलालले धन्यवाद दिए ।
विकासमा अगाडी राख्न जिल्ला समन्वय समतिले हरेक क्षेत्रमा समन्वय र सहकार्य गर्दै आएको र आगामी दिनमा समेत त्यसको निरन्तरता रहने प्रतिवद्धता व्यक्त गरे ।

साथै उनले समयमै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनी, जग्गा दातालगायत निर्माण प्रकृयामा सहयोग पु¥याउने सम्पूर्णमा धन्यवाद व्यक्त गरे ।

गाउँपालिकाकी कार्यबाहक अध्यक्ष सुकुमाया थिङले पालिकाको विकासमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै आफुले पालिका क्षेत्रको विकास गरि जनताको चाहा अनुसार काम गरिरहेको बताईन् ।

प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईले भवनमा केहि काम गर्न बाँकी रहेको र त्यो छिट्टै सम्पन्न हुने जानकारी दिए । उनले जिल्ला समन्वय समितिको सहयोगले मात्र भवन निर्माण गर्न सकेके बताउँदै जिल्ला समन्वय समितिलाई विषेश धन्यवाद दिए ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी गाउँपालिका भवन र अस्पताल निर्माणका लागि जग्गा प्रदान गर्ने स्थानीय रामलाल घलान, गोबिन्द पाठक, सुर्य बहादुर तितुङ, दुर्गा बहादुर स्याङ्तान, सन्चबहादुर स्याङ्तान, सुकुबहादुर स्याङ्तान, सिंगराम घलान र राम बहादुर स्याङ्तानको उपस्थिति रहेको थियो भने जग्गा दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

गाउँपलिकाकी कार्यबाहक अध्यक्ष थिङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, पालिकाका कर्मचारीलगायतको समेत आतिथ्यता रहेको थियो ।