बारा । प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीयलाई बाराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी ग्राम पञ्चायत बेलदर्वा–५ बस्ने ३० वर्षिय रंदेश कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

हिजो बिहान कलैया उपमहानगरपालिका–१० मटिअर्वा टोल स्थित नहर चोकमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बीआर २२ एन ५०१४ नम्बरको मोटरसार्यकलमा सवार उनलाई पक्राउ गरेको हो । प्रहरीले कुशवाहाको साथबाट १ हजार दरका १ हजार ३ सय थान र ५ सय दरका ६ सय थान गरि १६ लाख रुपैयाँ फेला पारेको हो ।

उक्त रकमको सम्बन्धमा सोधपुछ गर्दा उनले स्रोत खुलाउन नसकेकोले रकम ओसारपसार गर्न प्रयोग गरिएको सो मोटरसाईकलसहित उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ अनुसारको कसूरमा बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद अनुमति लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।