हेटौंडा । हेटौंडा-९, पशुपतिनगरस्थित प्रगति माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती महोत्सव आयोजना गर्ने भएको छ। वि.सं. २०२२ मा स्थापना भएको विद्यालयले यही माघ ६ गतेदेखि ९ गतेसम्म विविध कार्यक्रमसहित स्वर्ण जयन्ती महोत्सव मनाउने तयारी गरेको छ ।

विद्यालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले स्वण महोत्सव कार्यक्रमको बारेमा जानकारी गराएका छन् । कार्यक्रमको उद्घाटन माघ ६ गते हुने भएपनि महोत्सव अन्तर्गतका गतिविधिहरू पौष २६ गतेदेखि नै सञ्चालन भएऊ विद्यालयका प्रधानाध्यापक पराजुलीले बताए ।

स्वर्ण जयन्तीको अवसरमा विद्यालय परिसरमा स्वर्ण स्तम्भ निर्माण, संस्थापक प्रधानाध्यापक स्व. राधादेवी शाहको प्रतिमा निर्माण, स्मारिका प्रकाशन, विद्यालय गान सार्वजनिकरण, शिक्षक सम्मेलन, साहित्य सम्मेलन तथा विविध शैक्षिक, खेलकुद र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए ।

कार्यक्रम तालिकाअनुसार माघ २ गते छात्रा भलिबल प्रतियोगिता, माघ ३ गते जिल्लास्तरीय शिक्षक सम्मेलन आयोजना हुनेछ। त्यसैगरी माघ ४ गते विविध अतिरिक्त क्रियाकलाप, माघ ५ गते विद्यार्थी साइकल र्‍याली, मानवसेवा आश्रमलाई सहयोग तथा विद्यालय परिसर सरसफाइ कार्यक्रम तय गरिएको छ।

महोत्सवको मुख्य दिन माघ ६ गते स्वर्ण महोत्सव उद्घाटन, स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन, विद्यालय गान सार्वजनिकरण, शैक्षिक प्रदर्शनी, सम्मान कार्यक्रम तथा सांस्कृतिक प्रस्तुति गरिनेछ।
माघ ७ गते साहित्य सम्मेलन र विद्यार्थीका विविध अतिरिक्त क्रियाकलाप, माघ ८ गते अभिभावक तथा विद्यार्थी सहभागितामा खेलकुद कार्यक्रम, विद्यार्थी पुरस्कार वितरण र पूर्व विद्यार्थी सांस्कृतिक प्रस्तुति आयोजना हुनेछ। माघ ९ गते सरस्वती पूजा, स्व. राधादेवि शाहज्यूको प्रतिमा अनावरण, सांस्कृतिक कार्यक्रम, सम्मान तथा समापन कार्यक्रम हुनेछ ।

रातो समाचार संवाददाता
थप जानकारी