दिपक गौतम/

वसन्तपञ्चमी तथा नवौँ राष्ट्रिय पुस्तक दिवसको अवसरमा नवसर्जक साहित्य चौतारी नेपालले हेटौँडामा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपालद्वारा लिखित ‘लेखन शिल्प’ नामक कृति नि:शुल्क वितरण गरेको छ ।

नवसर्जक साहित्य चौतारी नेपालका राष्ट्रिय समितिका पदाधिकारी तथा सदस्य गरी ३४ जनालाई आज पुस्तक वितरण गरिएकाे र बाँकी १७ जना नवसर्जकलाई वैकल्पिक माध्यमबाट पुस्तक वितरण गरिने आयाेजक संस्थाले जनाएकाे छ ।

नवसर्जक साहित्य चाैतारी नेपालले देशविदेशका बालबालिकालाई सिर्जना र समालोचनाका सबै जसाे विधाकाे प्रशिक्षण गराउँदै आएकाे र डा. देवी नेपालकाे ‘लेखन शिल्प’ नवसर्जकहरूका लागि गुरुग्रन्थ भएकाले साे पुस्तक वितरण गरिएकाे चाैतारीका परिकल्पनाकार एवम् संरक्षक दीपक गाैतमले जानकारी दिनुभयाे ।

साथै, यस कृतिलाई गाउँगाउँका दूरदराजमा रहेका नवसर्जकहरूसमक्ष समेत पुर्याउने अभियान नवसर्जकले गर्नेसमेत प्रतिबद्धता जनाउनुभयाे ।

नवसर्जक साहित्य चाैतारीमा आबद्ध ५१ सदस्यीय विद्यार्थीहरूलाई कृति प्रदान गर्ने क्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) मकवानपुर, हेटौँडा–२ स्थित बालजागृति इङलिस बोर्डिङ स्कुल तथा हेटाैँडा-५ स्थित जी. एस. निकेतन माविले प्रायोजन गरेको छ ।

पुस्तक वितरण कार्यक्रममा सहभागीले पुस्तक अध्ययनको आवश्यक र अनुभवका बारेमा पनि बताएका थिए ।

नवसर्जक साहित्य चौतारीकी राष्ट्रिय उपाध्यक्ष तथा बागमती प्रदेश समितिकी संयोजक उषाकिरण अधिकारीको अध्यक्षता तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यमा पुस्तक वितरण कार्यक्रम भएको हो ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले समेत उपस्थित नवसर्जकहरूलाई २५ प्रति उहाँकै ‘शाेकगीतकाे पाेस्टमर्टम’ नामक कविता सङ्ग्रहसमेत प्रदान गर्नुभयाे । कार्यक्रममा बाेल्दै उहाँले नवसर्जक साहित्य चौतारीले देशभरका विद्यालय तहका विद्यार्थीलाई लेखन तथा पठन संस्कृतिकाे विकासमा अग्रसर गराउने विशेष अभियान सञ्चालन गरेकाेमा मुक्तकण्ठले प्रशंसा गर्नुभयाे ।

कोभिड–१९ को सङ्क्रमण तीव्र भएर विद्यालय बन्द भएका बेला झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमले विद्यालय तहका विद्यार्थीलाई साहित्यिक प्रशिक्षण गराउनुहुँदै साहित्य सिर्जना र प्रस्तुतिमा अग्रसर गराउनुभएको थियो ।

साहित्य सिर्जनामा अग्रसर विद्यार्थीकै राष्ट्रिय सञ्जालको रूपमा नवसर्जक साहित्य चौतारी नेपाल गत वर्ष पुस ११ गते गठन भएको थियाे ।

नवसर्जक साहित्य चौतारीले एक वर्षकाे बिचमा दुई वटा भाैतिक एक पचासभन्दा बढी कार्यक्रम भर्चुअल माध्यमबाट गरिसकेको चौतारीका महासचिव समर्पण न्यौपानेले जानकारी दिनुभएको छ ।

कार्यक्रममा चौतारीकी केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश समितिकी अध्यक्ष उषाकिरण अधिकारीले छिट्टै राष्ट्रिय बालकवि गोष्ठीको आयोजना गर्नुका साथै सातै प्रदेशका नवसर्जक तथा एकजना अग्रज बाल साहित्य सर्जक/अभियन्तालाई पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

नवसर्जक साहित्य चौतारी नेपालले हेटौँडाबाट प्रसारण हुने रेडियो निकाससँगको सहकार्यमा रेडियो कार्यक्रम समेत उत्पादन तथा प्रसारण गर्दै आएको छ । कार्यक्रममा नवसर्जक साहित्य चौतारी नेपालका परिकल्पनाकार तथा संरक्षक दीपक गौतम, प्याब्सन मकवानपुरका अध्यक्ष तथा बालजागृति इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल विनोद सुवेदी, विभिन्न साहित्यिक सङ्घ, संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।