भलिबलमा बागमती विरूद्ध सर्भिस गर्दै पहेँलो जर्सीमा हेटौंडाकी महिला खेलाडी सोनिका थिङ ।

हेटौंडा । हेटौंडामा जारी तेस्रो संस्करणको मकवानपुर जिल्ला पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडा र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा सोमबार हेटौंडा-४,हुप्रचौरास्थित भलिबल कोर्टमा समूह चरणको खेलहरू सम्पन्न भएसँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको हो ।

समूह चरणको २ खेलमा जीत निकालेर ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदै हेटौंडाको टिमले सेमीफाइनलको यात्रा पूरा गरेको हो ।  समूह ख बाट विजेता बन्दै २ जीत निकालेर तालिकाको शीर्ष स्थानमा रहँदै थाहा नगरपालिका र समूह ख बाट २ खेलमा एक जीत निकालेको भीमफेदी उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । यस्तै, समूह क बाट समूह चरणको ३ खेलमा २ जीत र एक हार व्यहोर्नुपरेको बकैया ६ अङ्क जोडेर सेमीफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा हेटौंडा र बागमतीको टिमबीच प्रतिस्पर्धा भएको छ । हेटौंडाले बागमतीलाई पहिलो सेटमा २५-१० ले र दोस्रो सेटमा २५-१५ ले पराजित गरेको छ ।

प्रतियोगिता अन्तर्गत भोलि मङ्गलबार सेमीफाइनल र फाइनल चरणको खेलहरू सञ्चालन हुनेछ । पहिलो सेमीफाइनल खेलमा हेटौंडा र भीमफेदीबीच प्रतिस्पर्धा हुनेछ दोस्रो सेमीफाइनल खेलमा थाहा नगर र बकैयाबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ६:३० बजेबाट सुरु हुनेछ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको सहकार्य रहेको प्रतियोगितामा मुख्य प्रयोजकको रुपमा हेटौंडा उपमहानगरपालिका रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँको नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ८० हजार रुपैयाँको नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा सान्त्वना हुने टिमले ३० हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा मकवानपुरको ७ वटा पालिकाको सहभागिता रहेको छ ।