
हेटौंडा । हेटौंडामा जारी तेस्रो संस्करणको मकवानपुर जिल्ला पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको सेमीफाइनलमा हेटौंडाको टिम प्रवेश गरेको छ । समूह चरणको २ खेलमा जीत निकालेर ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदै हेटौंडाको टिमले सेमीफाइनलको यात्रा पूरा गरेको हो । हेटौंडाले आज सोमबार समूह चरणको अन्तिम खेलमा बागमतीको टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । समूह चरणको पहिलो खेलमा आइतबार इन्द्रसरोबरलाई हेटौंडाले २५–१७ र २५–९ ले हराएको थियो । यस्तै समूह चरणको दोस्रो खेलमा सोमबार हेटौंडाले बकैयालाई २५–११ र २५–१३ ले सहजै पराजित गरेको हो ।
प्रतियोगिता अन्तर्गत सोमबार समूह चरणको अन्तिम खेलहरु सञ्चालन हुनेछ । यस्तै, आज सोमबार भएको दोस्रो खेलमा बागमतीलाई इन्द्रसरोबरले २५–२० र २५–१४ ले हराएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडा र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । मकवानपुर जिल्ला खेलकुद विकास समिति र हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको सहकार्य रहेको प्रतियोगितामा मुख्य प्रयोजकको रुपमा हेटौंडा उपमहानगरपालिका रहेको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँको नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ८० हजार रुपैयाँको नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा सान्त्वना हुने टिमले ३० हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि ७ लाख रुपैयाँ बजेट खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितामा मकवानपुरको ७ वटा पालिकाको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्