म्यान अफ द म्याच घोषित भएका वडा-९ का गोलरक्षक मन्दीप घलानलाई पुरस्कार हस्तान्तरण गर्दै ५ नम्बर वडाका अध्यक्ष सुशील घिमिरे ।

 हेटौंडा । हेटौंडामा जारी पाँचौ संस्करणको मेयरकप फुटबलप्रतियोगिताको पहिलो खेलमा हेटौंडा-३ र दोस्रो खेलमा हेटौंडा-९ को टिम विजयी भएको छ ।

आइतबार हेटौंडा-५,पिप्लेस्थित पिप्ले-क्याम्पा रङ्गशालामा भएको प्रि-क्वाटरफाइनल चरणको पहिलो खेलमा हेटौंडा-१३ लाई ३-१ गोलले हेटौंडा-३ ले पराजित गरेको छ भने दोस्रो खेलमा हेटौंडा-१६ लाई टाइब्रेकरमा ४-२ गोलले हेटौंडा-९ ले पराजित गरेको छ ।

पहिलो खेलमा ८ मिनेटमा हेटौंडा-३ का निराजन घलानले एक गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ४४ मिनेटमा टिम क्याप्टेन विजय दोङले गोल गर्दै अग्रतालाई कायमै राखेका थिए । २-० गोलले पछि परेको दवाबमा हेटौंडा-१३ विशेष थिङ्गले खेलको ४५ मिनेटमा १ गोल गरेका थिए । हेटौंडा-३ का निरभ घलानले अन्तिम गोल गर्दै ३-१ को स्थितमा पुर्याएका थिए ।

दोस्रो हेटौंडा-९ र हेटौंडा-१६ बीचको खेल गोलरहित बराबरीमा रोकिएपछि टाइब्रेकरको सहारा लिनुपरेको थियो । खेलको म्यान अफ द म्याच हेटौंडा-३ का विजय दोङ र हेटौंडा-९ का गोलरक्षक मन्दीप घलान घोषित भएका छ्न् ।

उनीहरुले २ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् ।

उपमहानगरपालिकाको सहयोगमा सुरु भएको प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि २० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गर्दा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकका लागि जनही १०÷१० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ ।