नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ । बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा बैठक आयोजना गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । बैठकमा साङ्गठनिक एवं समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ । गत पुस १८ गते सम्पन्न महाधिवेशनले तय गरेको भावी कार्यदिशाबारे बैठकले कार्यनीति तय गर्ने छ । माओवादी केन्द्रका नेता देव गुरुङले भन्नुभयो, “महाधिवेशनले तय गरेका र छुटेका कामकारबाही पूरा गर्नेछ, साङ्गठनिक बाँकी काम पूरा गर्ने छ र स्थानीय निर्वाचनको तयारी र रणनीति तय हुनेछ । ”

बैठकले पदाधिकारी चयन गर्नुका साथै सङ्गठनात्मक कार्य विभाजनको काम गर्नेछ । अमेरिकी आर्थिक सहायता (एमसीसी) अनुमोदन भइसेपछि माओवादी पार्टीभित्र देखिएको विवादलाई सहमतिमा ल्याउने काम पनि बैठकमा हुने नेता गुरुङले बताउनुभयो । साथै सत्ता गठबन्धन र समसामयिक राजनीतिक विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ ।

आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो । शनिबारको बैठकले पदाधिकारी चयन गर्ने भनिएको छ । महाधिवेशनले निर्वाचित केन्द्रीय सदस्यले नै पदाधिकारी चयन गर्ने जिम्मेवारी दिएको छ ।बैठकमा प्रदेशका अध्यक्षहरू र आयोगका सदस्यलाई पनि बोलाइएको ढकालले जानकारी दिनुभयो । बैठक कम्तीमा तीन दिनसम्म सञ्चालन हुन सक्ने उहाँको भनाइ छ । यसअघि केन्द्रीय समितिको बैठक तीन पटक स्थगित गरिएको थियो । माघ २८ र २९ गते बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । त्यस्तै, माघ ८ र पुस २५ गते बस्ने भनिएको बैठक पनि स्थगित भएका थिए ।

अध्यक्ष प्रचण्ड र श्रेष्ठबीच छलफल
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच बिहीबार बिहान छलफल भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा पार्टी एकता कायम राख्ने विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।साथै शुक्रबार बस्ने केन्द्रीय समिति बैठकको कार्यसूचीमाथि पनि दुई नेताबीच छलफल भएको छ । एमसीसी व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्दा माओवादी सहमत भएपछि श्रेष्ठलगायतका नेताहरूले असहमतिसहित विरोध गर्दै आउनुभएको छ ।अध्यक्ष प्रचण्डले एमसीसीमा मतभेद भए पनि अरू विषयमा मिलेर अघि बढ्न र पार्टीबाट अलग नहुन आग्रह गर्नुभएको छ । एमसीसी अनुमोदनका लागि पार्टीले गरेको भूमिकाका बारेमा पनि शुक्रबारको बैठकका छलफल हुनेछ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो