मोरङको सुनवर्षी–१ केचनाका गणेश तुर्छा (राई) यतिबेला ३ विघा जमिनबाट वार्षिक ३० लाख रुपियाँ कमाउने कृषि उद्यममा लाग्नुभएको छ । प्रति विघा मुस्किलले ६० मन धान फल्ने ३ बिगाहा खेतमा उहाँले ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गर्नुभएको हो । सुरुमा परीक्षणको रुपमा १०÷१५ वटा विरुवा लगाएर खेती सुरु गर्नुभएका गणेशले ती विरुवाले सोचे भन्दा राम्रो उत्पादन दिएपछि धान खेत मासेर ड्रागन फ्रुटको खेती विस्तार गर्नुभएको हो ।

खोलाको किनारमा रहेको तुर्छाको ३ विघा खेतमा अहिले १३ हजार विरुवाले उत्पादन दिन लागेका छन् । गत वर्ष वैशाखमा विरुवा लगाउनु भएका तुर्छा राईले भन्नुभयो–‘भारतको हैदरावादबाट विरुवा ल्याएर लगाएको हुँ । जेठदेखि उत्पादन दिनथाल्छ ।

राईले वार्षिक ३० लाख रुपियाँ कमाउने सपना देखेर ड्रागन खेती सुरु गर्नुभएको हो । उहाँले भन्नुभया, ‘१ करोड ५० लाख रुपियाँ लगानी भइसकेको छ । उहाँले ३ सय रुपियाँका दरले विरुवा खरिद गर्नुभएको हो । विरुवामा मात्र ३९ लाख रुपियाँ खर्च भएको छ । रोपाई खर्च, मल, घेरावार, सिंचाई र आफ्नो मेहनत गर्दा ठूलो लगानी भएको राईले बताउनुभयो ।

पाँच वर्ष दक्षिण अफ्रिकाको मोरक्को र ३ वर्ष सिंगापुरमा पसिना बगाउनु भएका ४५ वर्षीय राई ड्रागनले लगातार २० वर्ष उत्पादन दिन्छ भनेपछि यता तिर आकर्षित हुनभएको हो ।

धान, मकै, गहुँ जस्ता बालीबाट राम्रै उत्पादन हुन्थ्यो । समयमा मल उपलब्ध नहुँदा हरेक वर्ष किसान पीडामा हुन्छन् । ‘रसायनिक मल र विषादी विना सोचे जस्तो उत्पादन लिन सकिन्न । त्यसैले ड्रागन खेतीमा लागेको हुँ’, उहाँले भन्नुभयो, ‘नेपाली बजारमा सेतो ड्रागन फ्रुट प्रतिकिलो ५ सय रुपियाँमा बिक्री भइरहेको छ ।’

राईले रातो जातको बिरुवा लगाउनु भएको छ । राईका अनुसार सेतो भन्दा रातो प्रतिकिलो सय रुपियाँ बढीमा बिक्री हुनेगर्छ । औषत प्रति चार बोटबाट एक सिजनमा १२५ किलो उत्पादन लिन सकिने उहाँको भनाइ छ । २० वर्षसम्म लगातार उत्पादन लिन सकिने र मूल्य पनि राम्रो प्राप्त हुने अपेक्षासहित धान खेत मासेर ड्रागन लगाउनु भएका राईलाई उत्पादन सुरु भएपछि बजारको अभाव होला कि भन्ने चिन्ता लाग्न थालेको छ ।

उहाँले भन्नुभयो, ‘ठूलो लगानी फसिसकेको छ । बिक्री भएन भने फ्रुटलाई प्रशोधन गर्न सकिने सम्भावनाको अध्ययन गरिरहेको छु ।’

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो