हेटौंडा । दोस्रो संस्करणको हासु एफसी कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा मकवानपुरको मनहरी गाउँपालिकाको सिम्पानी युथ क्लब प्रवेश गरेको छ । चितवन जिल्लाको राप्ती नगरपालिका वडा–१,स्थित सिमरा खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको दोस्रो खेलमा जय मनकामना युथ क्लबलाई १–० गोलले हराउँदै सिम्पानी युथ क्लबले क्वार्टरफाइनलको स्थान सुरक्षित गरेको हो । प्रतियोगितामा पहिलो हाफको १२ मिनेटमा मिलन स्याङ्तानले गरेको गोल निर्णायक गोल बन्न पुगेको थियो । मिलन स्याङ्तान हेटौंडा फुटबल एकेडेमीका खेलाडी पनि हुन् । यही बिहीबार सिम्पानी वाइसीले क्वार्टरफाइनल चरणको खेल खेल्नुपर्नेछ ।
भोलि मंगलबारको खेलमा प्रतिस्पर्धा हुने लामा स्पोर्टस् र लोथर एफसीबीचको विजेता टिमसँग सिम्पानी वाइसीले प्रतिस्पर्धा गर्नुपर्नेछ । उक्त खेलमा जीत निकाले सिम्पानी युथ क्लब सेमीफाइनलमा प्रवेश गर्ने टिम म्यानेजर प्रकाश तामाङले जानकारी गराएका छन् । बुधबार भएको पहिलो चरणको खेलमा एमजेसी फिल्म स्टुडियोलाई ४–२ गोलले हराउँदै सिम्पानी वाइसीले विजयी सुरुवात गरेको थियो । खेलको म्यान अफ म्याच दोस्रो पटक पनि मिलन स्याङ्ताननै घोषित भएका छन् । प्रतियोगितामा २४ वटा टिमहरुको सहभागिता रहेको छ । आजै सोमबार भएको पहिलो खेलमा सयपत्री फुटबल क्लबले २–० गोलले एमबक्सको टिमलाई पराजित गरेको छ ।
राप्ती नगरपालिका १ नम्बर वडा कार्यालयको प्रयोजनमा तथा हासु कन्सटे्रनसीको प्रयोजनमा भदौ ३१ गतेबाट प्रतियोगिता सुरु भएको बताइएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने असोज १२ गते हुनेछ ।

































प्रतिक्रिया दिनुहोस्