नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि बिहीबार दोस्रो चरणको मतदान हुने भएको छ। सभापति पदका लागि पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुन लागेको हो।

दोस्रो चरणको निर्वाचनका लागि पहिलो भएका ५१ प्रतिशत मत नल्याएका प्रकाश बमलाई कांग्रेसको इतर पक्षले साथ दिने भएको छ। तर, नरायणदत्त भट्ट भने एक्लै भिड्ने भएपछि यसअघि बमका मतदाता रिझाउन गाउँ छिरेका छन्।

कांग्रेसको इतर पक्षले बम समूहसँग सहकार्य गरेर दोस्रो चरणको निर्वाचनमा सहयोग गर्ने बताएको छ । बुधबार बेलुकी धनगढीमा बम समूह र इतर पक्षले संयुक्त पत्रकार सम्मेलन गरेर दोस्रो चरणको निर्वाचनमा बम समूहलाई सघाउने बताएको छ।

यसअघि पहिलो चरणको निर्वाचनमा इतर पक्षका उम्मेदवार रामबहादुर कलेलले १ सय ९७ मत प्राप्त गरेका थिए। सो मत बम समूहलाई हाल्न लगाउने बताउँदै इतर पक्षबाट उम्मेदबार बनेका कलेलले भने,‘पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्ने प्रकाश बम समूहलाई हामीले समर्थन गर्ने भएका छौँ।’

आफूहरु भोलि हुने निर्वाचनमा बमका लागि सँगसँगै गएर भोट माग्ने उनले बताए। ‘हामी भोलि उहाँका लागि सँगै मत माग्ने छौँ,’ कलेलले भने,‘हामी केन्द्रले विधानविपरीत गरिरहेको निर्णय, केन्द्रको हस्तक्षेका विरुद्धमा बमलाई समर्थन गर्दैछौँ।’

उनले अहिले केन्द्रबाट मतदातालाई डर, त्रास, प्रलोभन पार्ने लगायतका काम भइरहेको बताउँदै भने,‘यहाँ केन्द्रबाट धेरैलाई वडा अध्यक्षदेखि मेयर तथा प्रदेश संसदसम्मको अफर आइरहेको छ, त्यसका लागि कांग्रेस संस्थापन पक्षले प्रलोभन देखाएर मतदाता तान्ने प्रपञ्च गरिरहेको छ, त्यसमा हामी कत्तिपनि विचलित हुँदैनौं।’

यस्तै दोस्रा उम्मेदवार नारायणदत्त भट्ट पनि यसअघिको मत बढाउनका लागि हर प्रयास गरिरहेका छन्। भट्ट बुधबार दिनभर भने जिल्लाको पूर्वी क्षेत्रमा मतदाता भेटघाटमै व्यस्त रहेका थिए। भट्ट निकट एक नेताका अनुसार यसअघि बमले पाएको मत आफूतिर तान्नका लागि मतदाता रिझाउन गाउँ अभियानमा गएका छन्।

जिल्ला अधिवेशनअन्तर्गत सोमबार भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो। पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत ल्याएका थिए।

उनले ११ सय ६९ मत पाए भने सभापतिका अर्का उम्मेदवार भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत पाएका थिए। कूल मत मध्ये १ सय चार मत बदर भएका थिए। भोलि (बिहीबार) सभापति पदका लागि हुने दोस्रो चरणको मतदान धनगढीस्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा हुने बताइएको छ। बुधबार निर्वाचन समितिले बिहीबार बिहान ८ बजेदेखि संघको सभाहलमा मतदान गरिने भनि सूचना जारी गरेको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो