कर्णाली प्रदेशकै पहिलो र आधुनिक ग्याबिन वायर उद्योग सञ्चालनमा आएको छ । सुर्खेतका व्यवसायीहरू पञ्चरत्न शर्मा, श्यामप्रकाश सापकोटा, दुर्गाप्रसाद रेग्मी र सिद्धिखर रेग्मीले १५ करोड रुपियाँको लागतमा सुरक्षा ग्याबिन वायर इन्डस्ट्रिज प्रालि सञ्चालनमा ल्याउनुभएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सो उद्योगको उद्घाटन गर्दै निजी क्षेत्र सक्षम नभएसम्म अन्य क्षेत्रको विकास गर्न नसकिने बताउनुभयो ।

औद्योगिक विकासमा सरकार सदैव तत्पर रहेकाले ठूला उद्योगमा लगानी गर्न आग्रह गर्दै उहाँले प्रदेशको आर्थिक समृद्धिका लागि सरकारलाई निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभयो । भरपर्दाे विद्युत् आपूर्तिका लागि आवश्यक १३२ केभी प्रसारण लाइन निर्माणमा अवरोध गर्न खोजिएकामा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री शाहीले लगानीका लागि सुरक्षित वातावरण तयार गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले प्रदेशमा लगानी गर्न पर्याप्त पुँजी, कानुन र पूर्वाधारको अभाव रहेको गुनासो गर्नुभयो ।

यस्तै सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले कर्णालीमा ठूलो क्षमताको आधुनिक ग्याबिन वायर उद्योग स्थापना भएकाले निर्माण व्यवसायीलाई तारजाली बाहिरबाट ल्याउनुपर्ने अवस्था अब हट्ने बताउनुभयो । उहाँले सरकारसँग सडक, विद्युत्को विकास गरिदिन पनि माग पनि गर्नुभयो ।

वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख जीवनारायण बञ्जाडेले औद्योगिक क्षेत्रमा पछिल्लो समय नयाँ र आधुनिक उद्योग स्थापना भइरहेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले २०३८ सालमा स्थापना भएको औद्योगिक क्षेत्र साँघुरो हुँदै गएकाले यसको उचित व्यवस्थापनमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

चीनबाट खरिद गरेर ल्याइएको मेसिनले सुर्खेतमै ग्याबिन तारजाली उत्पादन गर्न सकिने उद्योगका अध्यक्ष सिद्धिखर रेग्मीले जानकारी दिनुभयो । मेसिनबाट दैनिक नौ हजार ६०० वर्गमिटर ग्याबिन बक्स र दुई हजार किलोग्राम चेनलिङ्क (घेरबार जाली) उत्पादन गर्न सकिनेछ । तीन रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले प्रत्यक्ष र परोक्ष रूपमा ४० जनालाई रोजगारी दिएको छ । उद्योगले हाल २२ प्रकारका साइजमा ग्याबिन तारजाली उत्पादन गर्ने जनाएको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो