बनेपाको नागीडाँडामा विमानस्थल निर्माणको अत्तोपत्तो नभए पनि विमानस्थल बन्ने हल्लाले जग्गाको मूल्य पाँच गुणाले वृद्धि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थलमा चाप बढेपछि काभ्रेको बनेपा नगरपालिका–११ स्थित नागीडाँडामा विमानस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिएको थियो । सो अध्ययन थालिएपछि अब छिटै विमानस्थल निर्माण हुनेमा स्थानीयवासी निकै खुसी भए । विमानस्थल निर्माण हुने क्षेत्र नजिकका जग्गाको कारोबार पनि ह्वात्तै बढ्यो । मनपरी ढङ्गले जग्गा प्लटिङ गरिए । चलनचल्तीको भन्दा निकै गुणा मूल्य वृद्धि गराइयो ।

तर अब विमानस्थल निर्माण नहुने करिब निश्चित भएको छ । विमानस्थल निर्माणको हल्लाले जग्गाको भाउ मात्र वृद्धि हुन पुगेको गुनासो स्थानीय बासिन्दाको छ । महँगोमा जग्गा किन्नेका लागि यति बेला माछो माछो भ्यागुतोको अवस्था सिर्जना हुन पुगेको छ । बनेपा नगरपालिका–११ का वडाध्यक्ष शिवराम थापाले विभिन्न व्यक्ति र राजनीतिक स्वार्थकै कारण विमानस्थल निर्माण प्रक्रिया अवरुद्ध भएको बताउँदै भन्नुभयो, “विमानस्थल बनेन । जग्गाको भाउ मात्र बढ्यो । जथाभावी प्लटिङ भए ।”
स्थानीय राजेन्द्र थापाले त्यस क्षेत्रमा विगतमा प्रतिरोपनी सरदर पाँच लाख रुपियाँ पर्ने जग्गालाई २५ लाख रुपियाँसम्म कारोबार भएको बताउँदै विमानस्थल बन्ने हल्लाले सीमित व्यक्तिलाई फाइदा पुग्यो, सर्वसाधारण मर्कामा परे भन्नुभयो ।

विभिन्न समयमा धुलिखेलको ठूलीचौर, चिसापानी र बनेपाको नागीडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गरिएको थियो । ती स्थलको २०७५ वैशाखमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी नेतृत्वको टोलीले स्थलगत भ्रमण गरेको थियो । त्रिभुवन विमानस्थलमा हवाई चापका कारण समस्या उत्पन्न भएको भन्दै १५ दिनभित्रै उपयुक्त स्थान छनोटका लागि प्रतिवेदन पेस गर्न इन्जिनियर कमलकुमार केसीको संयोजकत्वमा छ सदस्यीय सुझाव टोली गठन गरिएको थियो । टोली निर्माणसँगै तत्कालीन मन्त्री अधिकारीले प्राविधिक, भौगोलिक र आर्थिक हिसाबले उपयुक्त स्थान छनोट गरी तुरुन्तै निर्माणको प्रक्रिया अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले वैकल्पिक आन्तरिक विमानस्थल अत्यावश्यक रहेको बताउँदै विमानस्थल निर्माणका लागि राजनीतिक स्तरबाट दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो । उक्त स्थानमा हुस्सु नलाग्ने, उपत्यकाबाट नजिक, अरनिको राजमार्गबाट करिब तीन किलोमिटर दूरीमा अवस्थित र विमानस्थललाई आवश्यक जमिनमध्ये करिब २५ प्रतिशत मात्रै अधिग्रहण गर्नुपर्ने र बाँकी सबै सरकारी जमिन भएकाले सरकारको व्ययभार पनि कम हुने अध्ययनले देखाएको थियो । एक हजार दुई सय मिटर रनवेसहितको पूर्वाधारका लागि न्यूनतम ६५ हेक्टर जमिन मात्र आवश्यक पर्ने सुझाव दिइएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर मुरारी भण्डारीले तत्कालीन अवस्थाको जस्तो त्रिभुवन विमानस्थलमा अहिले चाप नरहेकाले आन्तरिक विमानस्थल निर्माणको कार्य अघि नबढेको बताउनुभयो । उहाँले काभ्रेमा निर्माण गरिने भनिएको आन्तरिक विमानस्थलमा २० सिट क्षमताका ट्विनअटर विमान अवतरण गरिने भनिए पनि त्यस किसिमका विमान विस्थापन हुँदै गएकाले पनि आन्तरिक विमानस्थलका लागि बजेट नछुट्याइएको बताउनुभयो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो